काठमाडौँ : दसैँ नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख दुई नाका रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी बन्द हुँदा नेपाली बजारमा ल्याइने चाडपर्वलक्षित सामान बाटोमै अड्किएका छन् ।
गत २४ असारमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि आवागमन ठप्प छ । रसुवा भन्सार कार्यालयका अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार पुल निर्माण कार्य भइरहेको भए पनि दसैँअघि नाका खुल्ने सम्भावना छैन ।
यस्तै, बाढीपहिरोकै कारण तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन । भन्सार अधिकृत राजेन्द्र चुँडालका अनुसार पानी परिरहेको र जोखिम कायमै रहेकाले नाका सञ्चालन कहिले सम्भव हुन्छ भन्ने निश्चित छैन ।
केही समय खुल्दा २०–३० गाडी सामान आए पनि अहिले फेरि पूर्ण रूपमा बन्द भएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालका अनुसार तातोपानीमा मात्र ३००–४०० गाडी सामान रोकिएका छन् ।
भारतको मार्ग हुँदै सामान ल्याउँदा ४५ दिनभन्दा बढी समय लाग्ने र ढुवानी खर्च पनि अत्यधिक हुने भएकाले व्यवसायीलाई ठुलो घाटा पर्ने उनले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले चाडपर्व नजिकिएकाले सम्बन्धित मन्त्रालयबिच समन्वय गरी वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको जानकारी दिए ।
भौतिक पूर्वाधार मन्त्रालयले बाटो मर्मत र चीनतर्फ बेलिब्रिज निर्माण भइरहेको जनाइएको छ ।
व्यवसायीले मुस्ताङको कोरला र ताप्लेजुङको ओलाङचुङ्गोला नाकासमेत खुलाउन माग गरेका छन् । कोरला नाकामा नेपालतर्फ सडक पुगेको र चीनतर्फ पूर्वाधार तयार भएकाले १२ महिनामै सञ्चालन गर्न सकिने अवस्था भएको उनीहरूको दाबी छ ।
भन्सार विभागका तथ्याङ्कअनुसार आव २०८१/८२ मा रसुवागढी नाकाबाट ८५ अर्ब र तातोपानी नाकाबाट ५० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो । नेपालले चीनबाट ठूलो मात्रामा सामान आयात गर्ने भए पनि निर्यात भने नगण्य मात्रामा सीमित छ ।
प्रतिक्रिया