सिरहा : विद्यालय छाडेका यहाँको लहान नगरपालिका १८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्केका छन् ।
शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि कक्षा १ देखि ८ सम्मका विद्यालय छाडेका ६० जना बालबालिका विद्यालय फर्किएका हुन् ।
यसैअन्तर्गत आज विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त सामग्री वितरण गरेका हुन् ।
नगरप्रमुख चौधरीले भनेका छन्, “हामी विद्यालय सुधारमा लागिपरेका छौँ । दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडुन् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ ।”
उक्त कार्यक्रम रोटरी क्लब काठमाडौंँको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो । क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर र शोभापुरसहित लहान–१३ स्थित घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको जानकारी दिए ।
प्रतिक्रिया