विद्यालय केवल शिक्षालय मात्र होइन, समाज परिवर्तनको मेरुदण्ड पनि हो । शिक्षाबाटै व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समग्र उन्नति सम्भव छ । ज्ञानको ज्योति फैलाउने थलोका रूपमा विद्यालयले मुलुकको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
तर पछिल्लो समय “सामुदायिक विद्यालय” भन्ने शब्द सुन्ने बित्तिकै धेरै नागरिकको मानसपटलमा न्यून गुणस्तर, राजनीतिक थलो र प्रशासनिक कमजोरीको छायाँ परिहाल्छ । कतिपयले निजी विद्यालयलाई मात्र गुणस्तरीय शिक्षाको एक मात्र विकल्प मानेर सामुदायिक विद्यालयप्रति वितृष्णा समेत राख्ने गरेका छन् ।
यद्यपि यथार्थको अर्को पाटो त्यत्तिकै सशक्त छ, सामुदायिक विद्यालयभित्रै केही उदाहरणीय मोडेलहरू निर्माण भएका छन्, जसले सरकारी विद्यालयप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न गहिरो प्रभाव पारेका छन् । शिक्षण सिकाइको सुधार, विद्यार्थीको उपलब्धि वृद्धि, भौतिक पूर्वाधारमा विकास, प्रशासनिक पारदर्शिता, सूचना प्रविधिको उपयोग, अभिभावकको सक्रियता र समुदायको सहभागिता जस्ता पक्षमा उनीहरूले उल्लेखनीय प्रगति गरेका छन् ।
यस सामग्रीमा कोशी प्रदेशका १४ जिल्लामध्ये प्रदेश खबरले चयन गरेको १० यस्ता सामुदायिक विद्यालयहरू छन्, जसले गुणस्तरीय शिक्षाको नमूना प्रस्तुत गरेको देखिन्छ । यी विद्यालयहरूले सामुदायिक विद्यालयको गरिमालाई नयाँ उचाइमा पु¥याउँदै समाजमा एक नयाँ दृष्टिकोण समेत देखाउन मद्दत गरेको छ ।
जसलाई क्रमबद्ध रूपमा यहाँ प्रस्तुत गरिएको छ :-
झापाको धुलाबारी मावि
प्रदेश खबरले झापाको मेचीनगर नगरपालिका १० मा रहेको धुलाबारी माध्यमिक विद्यालयलाई उत्कृष्ट १० विद्यालयका रूपमा छनोट गरेको छ । यो २०७९ मा उत्कृष्ट विद्यालयको रूपमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट पुरस्कृत भएको विद्यालय हो । यस विद्यालयमा हाल ३ हजार ४ सय ७ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रत्येक कक्षामा बढीमा ४५ विद्यार्थी राखेर अध्यापन गर्नेगरी ‘सेक्सन’को व्यवस्था गरिएको छ । अपुग शिक्षकको व्यवस्थाका लागि निजी स्रोतबाट सुविधा उपलब्ध गराएर थप शिक्षकको व्यवस्था गरिएको छ । अनुपस्थित शिक्षकको कक्षा व्यवस्थापन गर्न ‘प्रोक्सी रुटिन’ बनाइ लिजरमा रहेका शिक्षकलाई थप सुविधा दिएर कक्षा खाली नहुने व्यवस्थापन गर्ने गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र विशाल लुइँटेलका अनुसार शिक्षकलाई विद्यालयमा नियमित गराउनका लागि सञ्चित नहुने बिदाको बचत भएमा त्यसबापत आर्थिक सुविधा उपलब्ध गराउनुका साथै कमजोर विद्यार्थीहरूलाई लक्षित गरी बिहान बेलुका तथा बिदाका दिनहरूमा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको छ । जहाँ कक्षा ८ र १० का विद्यार्थीहरूलाई प्रत्येक शनिबार परीक्षा लिने व्यवस्था मिलाइएको छ ।
बाल विकास देखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने गरिएको छ । शिक्षकहरूको क्षमता विकासका लागि आन्तरिक रूपमा प्रश्न पत्र निर्माण, पाठ्यक्रम प्रबोधिकरणजस्ता तालिमको सञ्चालन गर्ने गरिएको छ । शिक्षक तथा विद्यार्थीहरुलार्ई वार्षिक रूपमा शैक्षिक अवलोकन भ्रमणमा लैजाने गरिँदा समेत विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ ।
विद्यालयमा रेडक्रस, स्काउट, विज्ञान क्लब, ४ वटा सदनमार्फत विद्यार्थीहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमामा सहभागी गराइन्छ । विज्ञान, कम्प्युटर विज्ञान र प्राविधिक विषयका लागि प्रयोगशाला सहायकसहितको व्यवस्थित प्रयोगशालाको व्यवस्था भएको छ । शिक्षण सिकाइ कार्यलाई विशेष ध्यान दिएको विद्यालयले प्राविधिक शिक्षातर्फका विद्यार्थीहरूका लागि कार्यस्थलमा अभ्यास गर्न व्यवस्थित एआई सुविधासहितको क्लिनिकको व्यवस्था गरेको लुइँटेलले बताए ।
प्रयोगशालामा आवश्यक पर्ने ग्यासको आपूर्तिको लागि बायोग्यास प्लान्टको निर्माण गरिएको छ भने विद्यालय परिसरमा कमाउँदै पढ्दै कार्यक्रम अन्तरगत बङ्गुर, माछा, कुखुरा, बाख्रा र गाई पालन गरिएको छ । स्वच्छ शुद्ध खानेपानीको व्यवस्था गर्न ‘अल्ट्रा फिल्ट्रेसन’सहितको शुद्ध खानेपानीको व्यवस्था गर्नुका साथै विद्यार्थीलाई स्वच्छ र सुन्दर वातावरणमा शिक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ । विद्यालयभित्र आकर्षक फूलबारी र हरियाली कायम गरिएको छ । जसकारण विद्यार्थी अध्ययनका लागि मानसिक रूपमा तयार हुने हुन्छन् ।
दिवा खाजा खुवाउनका लागि खाजा पकाउने तथा खुवाउने ठाउँको समेत उचित व्यवस्थापन गरिएको छ । शैक्षिक गुणस्तर कायम गर्न ३५ जना शिक्षकहरूलाई जनही ल्यापटपको व्यवस्था गरिएको छ । आपत्कालीन अग्नि निरूपणका लागि प्रत्येक ब्लकमा एक वटाको दरले ५ वटा ग्यास अग्नि निरूपकको समेत व्यवस्था गरिएको छ । विद्यालयमा स्थापना भएको २४ लाखको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन र बैठकहरू नियमित हुने गरेको छ । पूर्व विद्यार्थी समाज, आमा समूह विभिन्न गतिविधिमा सक्रिय रहेका छन् । विद्यालयमा सूचना पाटी तथा सुझाव पेटिका राखेर नियमित अद्यावधिक गराउने गरिएको छ । खरिद समितिको बैठक बसी कोटेसनहरूमार्फत छलफल र निर्णय गरेर प्रत्येक खरिद प्रक्रिया अघि बढाउने गरिएको प्रधानाध्यापक लुइँटेलको भनाइ छ ।
प्रत्येक मसान्तमा बस्ने र त्यस महिनाको कार्य समीक्षा तथा आगामी महिनाको योजना निर्माण गर्ने गरिएको छ । विद्यालयमा पूर्णकालीन प्रधानाध्यापकका साथै तथा प्रधानाध्यापकको मातहतमा सहायक प्रधानाध्यापक र तहगत इन्चार्जको व्यवस्था गर्दै आमा समूहमार्फत दिवा खाजा कार्यक्रमको अनुगमन गराउने गरिएको छ । व्यवस्थापनमा उत्कृष्ट हुँदै आएको विद्यालयमा तीन वटा स्कुल बस सञ्चालनमा रहेका छन् ।
यसरी धुलाबारी मावि विद्यार्थीका हरेक अभिलासा पूरा गर्दै गर्दा नतिजा समेत वार्षिक रूपमा बढाउँदै लगिरहेको छ । २०७८ सालको एसइईमा २ सय ५६ जनालाई उत्तीर्ण गराएको विद्यालयले २०७९ र ०८० मा क्रमशः ३४३ र ३३१ जनालाई उत्तीर्ण गराएको थियो । यसै गरी कक्षा १२ का ३७२, ५४९ र ५५७ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
इलामको भानुभक्त मावि
आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानुभक्त माध्यमिक विद्यालयलाई १० उत्कृष्ट विद्यालयका रूपमा प्रदेश खबरले छनोट गरेको छ । यो मावि इलाम जिल्लाको पश्चिमी क्षेत्रको देउमाई नगरपालिका–४ मा अवस्थित छ । यो अनौपचारिक रूपमा २००५ साल बाट स्थापित भई २००८ सालमा औपचारिक रूपमा स्थापित भएको ऐतिहासिक विद्यालय हो । यसमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।
८ सय ५७ विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयको सेवा क्षेत्र फराकिलो रहेको छ । वि.सं.२०७४ सालबाट प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङ कक्षा ९ बाट १२ सम्म सञ्चालित छ । विद्यालयले शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनमा तीव्र रूपमा सुधार गर्दै गएको छ । आगामी वर्षमा शैक्षिक गुणस्तरको वृद्धिमा विद्यालयले फड्को मार्ने योजनाका साथ अगाडि बढेको विद्यालयका प्रधानाध्यापक वासुदेव कट्टेल बताउँछन् ।
विद्यालय शैक्षिक, भौतिक लगायतका पक्ष बाट उत्कृष्ट भएकै कारण विभिन्न प्रतियोगिता, मूल्याङ्कन लगायतमा उत्कृष्ट हुँदै धेरै पुरस्कारसमेत प्राप्त गर्दै आएको छ । वि.स. २०७६ साल भदौ २२ गते जिल्लाकै उत्कृष्ट कार्यसम्पादन विद्यालयको रूपमा पुरस्कार प्राप्त गर्न सफल भएको थियो । त्यसैगरी, २०७४ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्ला प्रथम, २०७६ मा जिल्ला दोस्रो, २०७७ मा तेस्रो स्थान हासिल गरेको थियो । नगर स्तरीय भलिबल छात्रतर्फ गत तीन वर्षबाट लगातार प्रथम, छात्रा फुटबलमा २०७६ मा दोस्रो, २०७७ मा प्रथम स्थान विद्यालयले हासिल गरेको छ ।
शैक्षिक उपलब्धिको क्षेत्रमा हेर्दा विद्यालयले वर्षेनि धेरै संख्यामा ३.६ जीपीएभन्दा माथि नतिजा प्राप्त गरेको छ । नेपाल भरका असल अभ्यास भएका विद्यालयको रूपमा छनोट भई मानव स्रोत विकास तथा नेपाल टेलिभिजनबाट यो विद्यालय छायाङ्कन भएर नेपाल टेलिभिजनबाट प्रसारणसमेत भइसकेको प्रधानाध्यापक कट्टेलको भनाइ छ । जिल्लाकै धेरै विद्यार्थी संख्या भएको शैक्षिक संस्थाको रूपमा परिचित यस विद्यालय शैक्षिक पर्यटकीय क्षेत्रका गन्तव्य स्थानमा परिसकेको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट २०८१ माघ महिनामा गरिएको परीक्षणमा ८४.८३ अङ्क प्राप्त गरी प्रदेशकै दोस्रो भएको थियो । विद्यालयमा हाल ८ सय ५७ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा फूलबारी, प्राथमिक क्षेत्रको छुट्टै घेरावारा, विद्यालय बसको सुविधा, प्रत्येक कक्षा कोठामा सीसी टिभी, आधुनिक प्रविधिका सामाग्रीको प्रयोगबाट सिकाइ, कोचिङ कक्षाको व्यवस्थापन र सञ्चालन तथा विज्ञान-गणितका लागि ६ जना शिक्षक, ८ जना इन्जिनियरजस्ता प्राविधिक शिक्षकको व्यवस्थापन गरिएको छ । विद्यार्थीको सिकाइमा प्रोत्साहन ल्याउन छात्रवृत्ति, अक्षयकोषको व्यवस्थापन गरी नियमित विवरण गरिँदै आएको छ ।
अभिभावकलाई विद्यालयप्रति सक्रिय बनाउन आमा समूह, पूर्व विद्यार्थी मञ्च गठन र कार्यान्वयनजस्ता क्रियाकलाप सञ्चालन रहेको छ । विद्यालय र अभिभावकबिच विद्यालय विकासको लागि साझेदारी कार्यक्रम सञ्चालनसमेत गरिँदै आएको प्रधानाध्यापक कट्टेलको भनाइ छ । सामाजिक परीक्षण, लेखा परीक्षणजस्ता कार्य समेत विद्यालयले समयमै सम्पन्न गर्ने गरेको छ । विद्यालयमा पक्की भवन ६ वटा र कच्ची भवन ६ वटा रहेका छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट नर्सरी कक्षादेखि १२ कक्षासम्म पठनपाठनको व्यवस्था मिलाइएको छ ।
औसत जीपीएलाई हेर्ने हो भने पनि एसइईमा २०७८ सालमा २.१७, २०७९ र ८० मा २.८३ र ३.२५ रहेको छ । त्यस्तै, कक्षा १२ को औसत जीपीएलाई हेर्ने हो भने पनि यी तीन वर्षमा २.५१, २.४४ र २.५१ रहेको छ ।
पाँचथरको फिदिम मावि
विगतदेखि नै शैक्षिक, भौतिक, आर्थिक एवं व्यवस्थापकीय दृष्टिले हालसम्म युगसापेक्ष अब्बल इतिहास बनाउन सफल सामुदायिक विद्यालयको रूपमा फिदिम माध्यमिक विद्यालय रहेको छ । यो पाँचथरको फिदिम नगरपालिकामा अवस्थित छ । वि.सं. २००६ मा स्वर्गीय प्रसादसिंह नेम्वाङको सक्रियतामा स्थापित प्रसाद प्राइमरी स्कुल, वि.सं. २०१६ मा प्रसाद मिडिल स्कुल, वि.सं. २०२१ मा प्रसाद हाई स्कुल, वि.सं.२०२५ मा फिदिम हाई स्कुल हुँदै २०३० सालमा फिदिम व्यावसायिक माध्यमिक विद्यालय र हाल फिदिम माध्यमिक विद्यालयमा रूपान्तरित यस विद्यालयमा अहिले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा शिक्षण क्रियाकलापहरू सञ्चालनमा रहेको छ ।
विद्यालयमा हाल २ हजार २ सय बढी विद्यार्थी अध्ययनरत छन् । आजको युग सूचना, प्रविधि तथा विश्व प्रतिस्पर्धाको भएकाले त्यसमा केन्द्रित भएर यस विद्यालयको चौतर्फी उन्नयन सबैको आकर्षणको केन्द्र बनेको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नुका साथै वर्तमानको चुनौतीलाई विद्यालयले सफल व्यवस्थापनमार्फत पार लगाउँदै आएको प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिए ।
विद्यालयले सामुदायिक विद्यालयमा सर्वसाधारण नागरिकको समतामूलक पहुँच, जबाफदेही व्यवस्थापन र सुशासनका पक्षहरूलाई प्रभावकारी बनाइ नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसहित आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीहरूको सिकाई उपलब्धि उच्च बनाउँदै लगेको छ । भौतिक तथा शैक्षिक पक्षको विकास गर्न तथा शिक्षाको गुणस्तर अभिवृद्धिसहित समाजको विकासमा नेतृत्वदायी भूमिका विद्यालयले खेल्दै आएको ठाकुरले बताए ।
नमुना विद्यालयको रूपमा स्थापित गर्न सरोकारवालाहरू सक्रियताकासाथ अगाडि बढेका छन् । फिदिम मावि पाँचथर जिल्लाका सबै पालिका तथा छिमेकी जिल्ला समेतका विद्यार्थीहरूको रोजाइमा परिरहेको विद्यालय हो ।
स्थापनाकालदेखि हालसम्म त्यसले निरन्तरता पाइरहेको छ । कक्षा १ भन्दा अगाडि दुई वर्षको शिशु कक्षा, कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत सिभिल इन्जिनियरिङका कक्षाका साथै कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ समूहका विषयहरूको पठनपाठनले विद्यालयको महत्त्व झनै बढेको छ ।
विद्यालयमा सेवाको आकार र सेवा क्षेत्र पनि निकै फराकिलो छ । पाँचथर जिल्ला मात्र नभई वरिपरिका छिमेकी जिल्लाहरू यस विद्यालयका सेवा क्षेत्रभित्र समेटिएका छन् । विद्यालयमा विद्यालय नर्ससहित प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । शैक्षिक गुणस्तर कायम राख्दै अनलाइन कक्षाहरूको समेत व्यवस्थापन गरिएको छ । विपद् र महामारीका समयमा समेत विपद् प्रतिकार्य योजना अनुसार शिक्षण सिकाइ हुने गरेको ठाकुरले बताए ।
स्वच्छ वातावरणका लागि हरित अभियान चलाएर सिकाइलाई प्रभावकारी बनाउने प्रयाससमेत भइरहेको छ । विद्यालयले भौतिक संरचनाको सुरक्षाका लागि घेरा बारा गर्ने, पर्खाल लगाउनेजस्ता कार्य गर्दै आएको छ । छात्रा तथा अपाङ्गता भएका बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दै प्रतियोगितात्मक कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक ठाकुरको भनाइ छ । शैक्षिक क्षेत्रमा गम्भीर भएर लागेको विद्यालयले शत प्रतिशत विद्यार्थीलार्ई उत्तीर्ण गराउन सकिरहेको छ । यस विद्यालयलाई प्रदेश खबरले १० उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा छनोट गरेको हो ।
धनकुटाको भानु मावि
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडा बजारमा रहेको भानु माध्यमिक विद्यालय वि.सं.२०१० सालमा स्थापना भएको हो । जहानियाँ राणा शासनको अन्त्यसँगै विद्यालय खुल्नेक्रम अनुसार नै यो विद्यालयको स्थापना भएको थियो । ४ सय १४ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल व्यावसायिक धार र साधारण धार अध्यापन हुँदै आएको छ ।
प्रदेश खबरले छनोट गरेको यस विद्यालयले अभिभावकसहित सरोकारवालासँग महिनामा एक पटक विद्यालयका विविध पक्षसँग केन्द्रित भएर छलफल गर्ने गरेको छ । त्यस्तै, विद्यालयले प्राविधिक धारतर्फ अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहायता गरी पढाउने दाताको खोजी गर्ने र छात्रवृत्तिका कार्यक्रमका लागि दाताको खोजी गर्ने गरिरहेको विद्यालयका प्रधानाध्यापक कमल सुब्बाले जानकारी दिए ।
पढाइमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क सहयोगी कक्षाको व्यवस्थापनका साथै अतिरिक्त कक्षा सञ्चालन, कक्षाकोठाको मात्र शिक्षा प्रदान नगरी विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्ने गरी प्रत्येक हप्ता हुने अतिरिक्त क्रियाकलाप विद्यालयमा सञ्चालन हुने गरेको सुब्बाको भनाइ छ । उनका अनुसार अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र भावनात्मक पक्षको सन्तुलित विकास गराउँछ भन्ने उद्देश्यले खेलकुद तालिकाको समेत व्यवस्था विद्यालयले गरिएको छ ।
अतिरिक्त क्रियाकलापहरूले सिर्जनात्मकता, आत्मविश्वास र प्रस्तुतीकरण क्षमतामा वृद्धि गर्ने भएकाले सिकाइलाई मनोरञ्जनात्मक बनाउँदै विद्यार्थीलाई सर्वाङ्गीण विकासतर्फ उन्मुख गराउनेतर्फ विद्यालय केन्द्रित रहेको सुब्बाले उल्लेख गरेका छन् । विद्यालयले सङ्गीत कक्षासमेत सञ्चालन गरेको छ । जसले गर्दा सङ्गीततर्फ रुचि भएका विद्यार्थीलाई सहयोग पुगेको छ ।
विद्यालयले शिक्षक नहुँदा विद्यार्थीलाई खाली घण्टी बस्नुपर्ने अवस्था हुन नदिनका लागि शिक्षक परिचालनलाई विशेष रूपले व्यवस्थापनसमेत गरेको छ । विद्यालयमा जुनियर रेडक्रस गठनसहित बाल क्लब गठन र विभिन्न प्रकारका पालिका र विद्यालय स्तरीय प्रतियोगिताको आयोजना तथा समन्वय विद्यालयले गर्दै आएको छ । पालिका जिल्ला स्तर तथा अन्य प्रतियोगिताहरूमा समेत विद्यालय सहभागी हुने गरेको छ ।
विद्यालयले सर्वाङ्गीण क्षेत्रको विकासमा तल्लीन हुँदै गर्दा नतिजा पनि हरेक वर्ष सकारात्मक गतिमा अगाडि बढेको छ । विद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शैक्षिक वर्ष २०७८ मा एसइईमा ६.४ प्रतिशत उपलब्धि हासिल गरेकोमा २०७९ र ८० मा १० र ३९.५८ प्रतिशत उपलब्धि हासिल गरेको छ । यसैगरी कक्षा १२ मा क्रमशः ३४.६, १६.६६ र २१.१५ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
वीरेन्द्र मावि भोजपुर
जिल्लाको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयलाई पनि प्रदेश खबरले १० उत्कृष्ट विद्यालयको रूपमा छनोट गरेको छ । हाल यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म ५ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । पहाडी जिल्ला भए पनि विद्यालय शिक्षामा गरिएको उत्कृष्ट कार्य कै आधारमा जिल्लाका अन्य विद्यालयको तुलनामा विद्यार्थी संख्या धेरै छ ।
विद्यालय सेवा क्षेत्रभित्रका कुनै पनि बालबालिकाहरू शिक्षाबाट वञ्चित नहुन् भनेर अभियान नै सञ्चालन गरी विद्यार्थी भर्ना गर्ने गरिएको छ । विद्यालयले कक्षा दोहो¥याउने र कक्षा छोड्ने दरलाई शून्य बनाउने प्रयास स्वरूप योजनाबद्ध रूपमा काम गरिरहेको छ । विद्यालयको भौतिक वातावरण र कक्षा शिक्षणलाई बालमैत्री बनाएको विद्यालयले शिक्षासँगै विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्फूटनका लागि विभिन्न अवसर पनि दिने गरेको विद्यालयका प्रधानाध्यापक पर्शुराम विष्टले जानकारी दिए ।
विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको विष्टको भनाइ छ । विषयगत रूपमा शैक्षिक अवस्था सुधारका लागि नियमित रूपमा छलफल तथा कार्यशाला कार्यक्रमहरू आयोजना गरिन्छ । जसले शिक्षकहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको छ । साथै, अभिभावक र विद्यालयबीच सहकार्य सुदृढ गर्न अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूको आत्मविश्वास तथा सिर्जनात्मक क्षमता वृद्धिमा सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यालयमा पारदर्शिता, जबाफदेहिता, समय पालना, शैक्षिक योजना कार्यान्वयन लगायतका विभिन्न सुशासनका प्रबन्धहरू समेत प्रभावकारी रूपमा अवलम्बन गरिएकाले समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्न सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक विष्टले बताए ।
शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन समितिबीच नियमित संवाद र समन्वय कार्यका आधारमा सुशासनका आधारभूत अभ्यासहरू भइरहेका छन् । वार्षिक कार्ययोजना र मूल्यांक प्रणालीलाई व्यवस्थित बनाइएका छन् । यस्ता कार्यहरूबाट विद्यालयमा उत्तरदायी, प्रभावकारी र पारदर्शी शैक्षिक वातावरण निर्माण गर्न सहज भएको समेत विष्टको भनाइ छ । ११ वटा भवन रहेको यस विद्यालयमा कक्षाकोठाको संख्या ४१ वटा छन् ।
ओखलढुंगाको वरुणेश्वर मावि
जिल्लाको मोलुङ्ग गाउँपालिका–२ मा रहेको वरुणेश्वर माध्यमिक विद्यालय जहानियाँ राणा शासनको अन्त्यसँगै वि.सं.२००८ सालमा स्थापना भएको हो । विभिन्न कालखण्डमा अवरोधसँग जुध्दै आएको विद्यालयमा अहिले बालकक्षादेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । व्यवस्थापनमा अब्बल रहेका कारण कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट पुरस्कृत भएको विद्यालयमा ७ सय ६ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कुलप्रसाद खतिवडाले जानकारी दिए ।
विद्यालयले शैक्षिक सुधारका लागि शिक्षकलाई ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेको छ । यसले शिक्षकहरूलाई पाठ योजनामा विविधता ल्याउन, इन्टरनेटमार्फत नवीनतम शैक्षिक सामग्री प्राप्त गर्न, अनलाइन कक्षा सञ्चालन गर्न र विद्यार्थीहरूको प्रगति व्यवस्थापन गर्न महत्त्वपूर्ण सहयोग भएको खतिवडाको भनाइ छ । यसले शिक्षकहरूको सिप अभिवृद्धि मात्र होइन, विद्यार्थीहरूलाई पनि प्रविधिमैत्री वातावरणमा सिक्ने अवसर प्रदान गर्छ भन्ने विश्वास विद्यालयको छ ।
यसरी प्रविधिको प्रयोगले सम्पूर्ण शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा समेत विद्यालयको छ । प्राविधिक शिक्षामा समेत जोड दिएको विद्यालयमा विज्ञान र पशु विज्ञान विषयको प्रयोगशाला रहेको छ । पशु विज्ञान कार्यक्रमलाई व्यवस्थित गर्न फर्म सञ्चालन र हेरालुको व्यवस्थापनसमेत गरिएको प्रधानाध्यापक खतिवडाले जानकारी दिए । आईसीटीमैत्री कक्षा कोठा व्यवस्थापन गर्दै सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सिकाइ वातावरणलाई प्रविधिमैत्री, आकर्षक र प्रभावकारी बनाउने कार्यमा समेत विद्यालयले काम गरिरहेको छ ।
यसले शिक्षकलाई विषयवस्तु आकर्षक रूपमा प्रस्तुत गर्न र विद्यार्थीलाई अन्तरक्रियात्मक सिकाइमा संलग्न गराउन मद्दत गरेको छ । डिजिटल सामग्रीको प्रयोगले सिकाइलाई सरल, रमाइलो र प्रभावकारी बनाएको छ । शिक्षण कार्यलाई व्यवस्थित गर्नका लागि विद्यालयले विद्यालय हाताको संरक्षण र भौतिक पूर्वाधारको व्यवस्थापनलाई विशेष चासो दिने गरेको छ ।
विद्यार्थीको दैनिक अध्ययन गतिविधि, गृहकार्य, परीक्षा तयारी, पाठ योजनाहरू तथा शिक्षक–अभिभावक समन्वयलाई व्यवस्थित रूपमा अभिलेख राख्नका लागि शैक्षिक र गृहकार्य व्यवस्थापन डायरीको व्यवस्थासमेत विद्यालयले गरेको खतिवडाले बताए । शिक्षकहरूलाई विद्यार्थीको प्रगति निगरानी गर्न र अभिभावकलाई जानकारी दिन यसले सहयोग पु¥याउँछ । यसले अनुशासन, समय व्यवस्थापन र जिम्मेवारीपन विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको तथा विद्यालयका समग्र पक्षको विकासका लागि सबै सरोकारवाला पक्षलाई जिम्मेवार बनाउने उनले बताए ।
फरक क्षमता भएका विद्यार्थी र अन्य उमेरगत हिसाबले रहेका विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजता होस् भन्ने अभिप्रायले बालमैत्री फर्निचरको समेत व्यवस्थापन विद्यालयले गरेको छ । बाल क्लब, रेडक्रस र विद्यालय स्काउटजस्ता समूह गठन गरी विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ । यसले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूको सामाजिक, मानसिक, शारीरिक र नैतिक पक्षको विकासमा समेत सहयोग पुगेको छ ।
यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य भावना, आत्मविश्वास, जिम्मेवारीपन र सेवा भावजस्ता महत्त्वपूर्ण जीवन उपयोगी सिपहरू विकास गर्दै आएको छ । समूहमा काम गर्दा विद्यार्थीले विचार आदान–प्रदान गर्न, समस्याको समाधान खोज्न र अनुशासित जीवनशैली अपनाउने गरेका छन् । साथै, सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने अवसर पाएका मात्रै छैनन् समाजप्रतिको उत्तरदायित्व बोध गर्दै आत्मनिर्भर बन्ने प्रेरणा समेत मिलेको छ ।
विद्यालयले विद्यालयस्तरीय, पालिकास्तरीय, जिल्लास्तरीयका साथै विभिन्न प्रतियोगितामा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ । यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सक्षम, सशक्त र योग्य नागरिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास विद्यालयले लिएको प्रधानाध्यापक खतिवडाको भनाइ छ ।
प्रदेश खबरले उत्कृष्ट विद्यालयका रुपमा छनोट गरेको यस विद्यालयको शैक्षिक उपलब्धि औसत छ । २०७८ मा कक्षा १० को २.९१, २०७९ मा २.९६ र २०८० मा ३.०२ जीपीए रहेको विद्यालयको तथ्यांकले देखिएको छ ।
उदयपुरको जनता मावि
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयलाई समेत प्रदेश खबरले कोशी प्रदेशका १० उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा छनोट गरेको छ । त्यस क्षेत्रको उत्कृष्ट सामुदायिकमध्येको यस विद्यालयको उत्कृष्ट व्यवस्थापनलाई ध्यानमा राखेर कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको थियो । हाल बालकक्षादेखि कक्षा १२ सम्म सञ्चालन रहेको विद्यालयमा ९ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिएका छन् ।
विद्यालयले भवनको अवस्था, कक्षाकोठाको संख्या र गुणस्तर, शौचालयको उपलब्धता, सरसफाइ, पिउने पानीको व्यवस्था, खेलमैदान, प्रयोगशाला, पुस्तकालयलगायत पूर्वाधारहरूले सिकाइ वातावरणको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तिनको नियमित अनुगमन, मर्मत सम्भार तथा आवश्यकता अनुसार विस्तार गर्ने काम भइरहेको प्रधानाध्यापक राउतले जानकारी दिए ।
विद्यालय सञ्चालनका लागि निर्माण गरिएका ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा विद्यालयले कुनै कसर बाँकी नराखेको राउतको भनाइ छ । भौतिक पूर्वाधारको सही पहिचानबाटै विद्यालयको आवश्यकताको स्पष्ट चित्र प्राप्त हुने भएकाले योजनाबद्ध रूपमा स्रोत व्यवस्थापन र सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको उनले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीको सहभागिता बढाउन र समग्र शैक्षिक वातावरणलाई समुन्नत बनाउन योजनाबद्ध ढंगले काम भइरहेको उनले बताए ।
विद्यालय व्यवस्थापन र विद्यालयको विभिन्न कार्यक्रमलाई सञ्चालन तथा व्यवस्थापन गर्नका लागि विद्यालयले आमा समूह र पूर्व विद्यार्थीहरूको समूहलाई सक्रिय बनाउँदै आएको छ । विद्यालयले अभिभावकहरूको गुनासोलाई छिटो र सरल रूपले सम्बोधन गर्दै आएको छ । जसअन्तर्गत विद्यालयले विद्यालय, शिक्षक र अभिभावकबीच आपसी सहयोग, संवाद र सहकार्यलाई मजबुत बनाउने गरेको राउतले बताए ।
यस्तो समन्वयबाट विद्यालयमा शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार र अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मद्दत गरेको छ । प्रधानाध्यापक राउतका अनुसार विद्यालयमा हुने निर्णय प्रक्रियामा अभिभावकको आवाज समावेश हुँदा पारदर्शिता र जबाफदेहिता बढाउनुका साथै विद्यार्थीको अनुशासन, उपस्थिति, पाठ्यपुस्तकको उपलब्धता, अतिरिक्त क्रियाकलाप तथा विद्यालयको समग्र विकासमा अभिभावकको भूमिका थप सक्रिय र प्रभावकारी बनेको छ ।
समन्वयका साथ काम गर्दा विद्यालय र समुदायबीचको दुरी घट्नुका साथै परामर्शदाताको भूमिका निर्वाह गर्ने तथा शिक्षा प्रणालीलाई स्थानीय आवश्यकता अनुसार प्रभावकारी बनाउन सहयोग पुगेको छ । मातहतका तालुक कार्यालयबाट आउने निर्देशन तथा सुझावलाई पालना गर्न विद्यालयले कुनै कसर बाँकी नराखेको राउतको भनाइ छ । विद्यालयमा प्राप्त हुने स्रोत–साधनको प्रयोग, खर्च, आम्दानी र शैक्षिक तथा भौतिक प्रगतिबारे तयार पारिएको विवरणलाई सरोकारवालासामु खुला र पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको छ ।
विद्यालयमा आएको सरकारी अनुदान, समुदायबाट प्राप्त सहयोग, विद्यार्थी शुल्क लगायतका आर्थिक स्रोतहरुको व्यवस्थापन तथा तिनको खर्च विवरण अभिलेखमा राखी समय–समयमा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालालाई जानकारी गराउने गरिएको छ । विद्यालयको व्यवस्थापनका लागि दातृ निकायको खोजी गरी सहयोग जुटाउन अन्य निकायमा पहलकदमी लिने जस्ता महत्त्वपूर्ण कार्य गरिँदै आएको छ । यसले विद्यालयका विभिन्न आवश्यकता पूर्तिका लागि सहयोग पुगेको छ । एसईई र कक्षा १२ को परीक्षामा विद्यार्थीहरूले उत्कृष्ट नतिजा हात पारिरहेको विद्यालयले जनाएको छ ।
सोलुखुम्बुको केदार मावि
जिल्लाको नेचा क्षेत्रको शैक्षिक केन्द्रको रूपमा रहेको केदार माध्यमिक विद्यालयलाई पनि प्रदेश खरबले १० सामुदायिक विद्यालयका रूपमा अटाएको छ । नेचासल्यान गाउँपालिका–४ मा रहेको यो विद्यालय वि.सं. २००४ सालमा स्थापना भएको हो । वि.सं. २०१० सालबाट अध्यापन गराउने काम भएपनि राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार वि.सं. २०३१ सालबाट केदार प्राथमिक विद्यालयका रूपमा सञ्चालन गरियो ।
वि.स २०३३ सालमा साबिक नेचा वेतघारी गाउँ विकास समिति(गाविस)–५ निवासी थपिमाया राईबाट निःशुल्क जग्गा प्राप्त भएको थिाये । त्यसपश्चात् विद्यालयको सेवा क्षेत्रमा उपलब्ध स्रोतको परिचालन गर्दै वि.सं.२०३६ सालमा निम्न माध्यमिक, वि.स.२०५३ सालमा माध्यमिक हुँदै वि.सं २०५५ सालमा पहिलो पटक एसएलसीमा सामेल भएको विद्यालयका प्रधानाध्यापक एकराज शर्माले जानकारी दिए ।
वि.सं २०६७ मा 'प्लस टु' सम्म अध्ययन हुँदै आएको विद्यालयमा हाल कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियर कक्षा सञ्चालन हुँदै आएको छ । वैकल्पिक ऊर्जा र विद्युतीय दुवैको प्रयोग गरी उच्च शिक्षासम्मका विद्यार्थीलाई कम्प्युटर कक्षाका साथै कम्प्युटर ल्याबको स्थापना गरी सञ्चालन गरिएको छ । प्रदेश सरकारबाट पुरस्कृत भइ प्रोत्साहन र पुरस्कारले व्यवस्थापकीय पक्ष सबल हुनुको साथै भौतिक तथा शैक्षिक क्षेत्रमा सुधार हुँदै आएको विद्यालयले जनाएको छ ।
हिमाली क्षेत्रको वातानुकूलित यस विद्यालयमा हाल ४ सय ३ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षा नियमावली अनुसार नै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भइ क्रियाशील रहेका छन् । आवश्यकता अनुसार अभिभावक भेला गर्ने वार्षिकोत्सवमा विद्यालयको आय व्ययका विषयमा अभिभावक तथा सरोकारवालालाई जानकारी गराउने, चौमासिक रूपमा सरोकारवालाबीच सार्वजनिक सुनुवाइ गर्ने, शिक्षक–विद्यार्थीको आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने, प्रत्येक २ महिनामा विद्यालय व्यवस्थापनको बैठक बस्ने, अतिरिक्त क्रियाकलाप गराउनेजस्ता कार्यक्रमको व्यवस्थापन गरिएको प्रधानाध्यापक शर्माले बताए ।
विद्यालयमा शिक्षक–विद्यार्थी कल्याण कोषको समेत स्थापना भएको छ । कच्ची सडक सञ्जाल पुगे पनि विद्यालयमा यातायातको साधन नहुँदा प्राविधिक साधारणधारका विद्यार्थी अध्यापनका लागि अझै पनि १३ किलोमिटरदेखि विद्यालय हिँडेर आउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक शर्माको भनाइ छ । विद्यालयको सुरक्षाका लागि कच्ची पर्खाल निर्माण र सीसी क्यामेरा जडान गरिएको छ ।
प्रतिशतका आधारमा हेर्दा शैक्षिक वर्ष २०७८ मा एसईईका ६१.५५ प्रतिशत साथै २०७९ र ८० मा क्रमशः ६३.७७ र ६७.५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी कक्षा १२ मा ६४.६४, ६७.५२ र ७०.५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयको तथ्यांकले देखाएको छ ।
वसन्त मावि तेह्रथुम
प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न अनुमतिप्राप्त तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको वसन्त माध्यमिक विद्यालय धनकुटा तेह्रथुम र संखुवासभाका विद्यार्थी अध्ययन गर्ने शैक्षिक केन्द्रको रूपमा परिचित छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट व्यवस्थापनमा पुरस्कृत भएको यो विद्यालयको स्थापना वि.सं.२०२३ सालमा भएको हो ।
शिक्षा विकासका लागि विभिन्न आरोह अवरोह पार गर्दै आएको यो विद्यालयमा २०७३ सालबाट प्राविधिक तथा व्यावसायिक शिक्षासमेत समावेश गरिएको छ । यस विद्यालयमा हाल ४ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कृषितर्फको बालीविज्ञान विषयमा अध्ययन हुने गरेको छ । शुद्ध पिउने पानी र शौचालयको राम्रो व्यवस्था भएको विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्म स्मार्ट टिभी जडान गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।
विद्यालयमा प्राप्त किताबी ज्ञानले मात्र विद्यार्थीको पूर्ण विकास सम्भव हुँदैन भन्ने व्यावहारिक पक्षलाई दृष्टिगत गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा लुकेका प्रतिभा पहिचान गर्न, आत्मविश्वास बढाउन, सामाजिक सिप सिक्न र नेतृत्व क्षमताको विकास गर्न मद्दत गर्ने गरेको छ । यस्ता गतिविधिबाट विद्यार्थीले सहकार्य, समय व्यवस्थापन, समस्याको समाधान र निर्णय क्षमताजस्ता जीवनोपयोगी सिपसमेत सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक काफ्लेले बताए ।
विद्यालयमा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी संख्या धेरै भएको र त्यसलाई मध्यनजर गर्दै विद्यालयले आफ्नै आर्थिक स्रोतबाट विद्यार्थीलाई पोसाक समेत वितरण गर्ने गरेको छ । त्यस्तै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी र छात्रवृत्तिसमेत प्रदान गर्ने व्यवस्था विद्यालयले मिलाएको छ । विद्यालयले लिन पाउने शुल्कलाई समेत विद्यालयले छुट दिने गरेको छ । विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण र विद्यालयको सबै पक्षको विकासका लागि सहयोगी दाता तथा दातृ संस्थाको खोजी गर्ने कार्य विद्यालयले गर्दै आएको छ ।
काफ्लेका अनुसार विद्यार्थीहरूलाई विभिन्न प्रतियोगितामा भाग लिन उत्साहित गर्ने गरेको विद्यालयले समय मिलाए शैक्षिक भ्रमणसमेत गराउने गरेको छ । सामुदायिक भएकोले अभिभावकहरू विद्यालयलाई खासै वास्ता नगर्ने परिपाटीको अन्त्यका लागि अभिभावकहरूलाई समेत विद्यालयका हरेक क्रियाकलापमा सहभागी गराउने प्रयास भइरहेको छ ।
विद्यालयको शैक्षिक उपलब्धि अनुसार एसईईमा २०७८ मा ५६ प्रतिशत २०७९ मा ५७ प्रतिशत र २०८० मा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, कक्षा १२ मा नतिजा अनुसार ५८, ६१ र ६९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको यस विद्यालयलाई प्रदेश खबरले १० उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको हो ।
सुनसरीको जनता मावि
सुनसरी इटहरीमा अवस्थित जनता माध्यमिक विद्यालय प्रदेश खबरको यो सूचिमा छनोट भएको छ । जनता मावि २०१३ सालदेखि पूर्वी नेपालमा शिक्षाको ज्योति फैलाउने एक अग्रणी संस्थाको रूपमा हालसम्म आफ्नो पहिचान कायम राखेको एक सामुदायिक विद्यालय हो । यो इटहरीको सबैभन्दा पुरानो विद्यालय पनि हो । शैक्षिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका कारण यो विद्यालयले धेरै सक्षम र सफल जनशक्ति उत्पादन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार यस विद्यालयमा हाल करिब ३ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी तथा शिक्षकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापक नाम र प्रसिद्धिको लागि दक्षता प्राप्त गर्न सहकार्य गरेर काम गर्दै आएको छ । ‘आजको युग सूचना, प्रविधि तथा विश्व प्रतिस्पर्धाको हो’ भन्ने मान्यतालाई आत्मासात गर्दै आएको विद्यालय विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नमा केन्द्रित छ ।
विपद्, महामारी र कठिन अवस्थामा समेत सिकाइका लागि उत्कृष्ट वातावरण बनाउनुपर्छ भन्ने मान्यता लिएको विद्यालयले अनलाइन कक्षासमेत सञ्चालन गरी पठनपाठन गराउने गरेको प्रधानाध्यापक सिग्देलको भनाइ छ । विद्यालयले छात्रा तथा अपांगता भएका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । इ–हाजिरीको व्यवस्था समेत विद्यालयले गरेको छ ।
सुशासन व्यवस्थापनअन्तर्गत विद्यालय व्यवस्थापन समिति समय मै गठन गरी क्रियाशील गराउने, शिक्षक अभिभावक संघ गठन गरी सामाजिक परीक्षण गराउने र लेखा परीक्षण प्रत्येक वर्ष गर्ने जस्ता कार्य विद्यालयले समयमै गर्ने गरेको छ । विद्यालयको सम्पूर्ण अवस्था बारे जानकारी गराउन आवश्यकता अनुसार अभिभावक भेला गराइन्छ । शिक्षक आचारसंहिता तथा विद्यार्थी आचारसंहितालाई कार्यान्वयन गर्ने कामसमेत विद्यालयले गरेको छ ।
बाल क्लब, इको क्लब गठनलाई निरन्तरता दिँदै आएको छ । विभिन्न शैक्षिक योजना निर्माण र कार्यान्वयन पक्षलाई मजवुद बनाउँदै लागू गरेको छ । विद्यालयमा आउने विद्यार्थी, अभिभावक तथा सरोकारवालको गुनासोलाई सम्बोधन गर्नका लागि गुनासो सुनुवाइ समिति गठन गरी क्रियाशील गराइएको छ । अभिलेख व्यवस्थापनलाई व्यावस्थित बनाएको विद्यालयले कक्षा कोठाको मात्र ज्ञान नदिइ विद्यार्थी तथा शिक्षकलाई शैक्षिक भ्रमणमा लैजाने गरेको छ ।
विद्यालयका सबै कक्षाको औसत कक्षोन्नती हुने दर ९९ प्रतिशतभन्दा माथि रहेको छ । कक्षा दोहोराउने दर १ प्रतिशत भन्दा कम रहेको छ । कक्षा छोड्ने दर शून्य प्रतिशत रहेको विद्यालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया