काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।
संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा गगनविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको हो ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले गगनले लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित आजको ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अबहेलना मुद्दा दायर गरेका थिए । महामन्त्री थापाले अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिऊ’ भन्दै डील गरिरहेको टिप्पणी गरेका थिए ।
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाईँ हान्दिऊँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ ।कहिले भोलि हेर्ने भन्छ, पर्सी हेर्ने भन्छ । त्यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेका काम, त्यसमा नियुक्ति भएका मानिसहरुको कार्यकाल सकिन लागिसक्यो । त्यो ठीक थियो कि बेठीक थियो भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चाहीँ चार वर्ष/साँढे चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरौं, शुक्रबारसम्म, भ्याइनभ्याइ, हेर्दाहेर्दै भनेर जसरी यो विषयलाई अदालतले डिल गर्यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?’ गगनले भनेका थिए ।
प्रतिक्रिया