कोशी प्रदेशमा अघिल्लो वर्षभन्दा बढी रोपाइँ

शनिबार, १४ असार २०८२
सांकेतिक फाईल

विराटनगर : कोशी प्रदेशमा यस वर्षको धान रोपाइँ गत वर्षको तुलनामा केही बृद्धि भएको छ । प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्म १४.२५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिमा १३.७१ प्रतिशत थियो ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार प्रदेशभर कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ ।

उनका अनुसार पहाडी जिल्लाहरूमा सामान्यतया छिटो रोपाइँ हुने गरे पनि यस वर्ष वर्षा नपरेका कारण ढिलाइ भएको छ । “उच्च पहाडमा यस समयसम्म आधा रोपाइँ सकिनुपर्ने हो, तर पानी नपर्दा प्रगति सुस्त देखिएको छ,” सचिव पाण्डेले बताए । यद्यपि, आगामी दिनमा पर्याप्त वर्षा हुने अनुमान गरिएकोले समग्र रोपाइँमा असर नपर्ने उनको भनाइ छ ।

जिल्लागत रूपमा ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, भोजपुरमा ४२, ओखलढुंगा र खोटाङमा ३१.३० प्रतिशत, तेह्रथुममा २६, सोलुखुम्बुमा ६.३१, इलाममा १२, संखुवासभा र धनकुटामा ७–७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तराईका जिल्लाहरूमा झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।

रोपाइँका लागि आवश्यक रासायनिक मलको आपूर्ति पर्याप्त रहेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले साउन दोस्रो सातासम्म अघिल्लो वर्षको तुलनामा अझ बढी रोपाइँ हुने अनुमान गरेको छ । पर्याप्त वर्षा र मल आपूर्तिका कारण यस वर्ष उत्पादनमा सुधार आउने आशा गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार