इटहरी : धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुल नजिक कोशी राजमार्गमा शुक्रवार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
धरानबाट इटहरीतर्फ तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४३ प–३३१५ नम्बरको मोटरसाइकल सडकछेउमा पार्क गरिएको रोलरमा ठोक्किँदा दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा इटहरी–१९,का ३८ वर्षीय सुरेश राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उपचारका क्रममा मृत्यु भएका राईको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनामा इटहरी–२० निवासी १७ वर्षीय विराज पुरी र सुमित शाही गम्भीर घाइते भएका छन्। पुरीको दुवै आँखामा गम्भीर चोट देखिएको छ भने शाहीको अवस्था समेत चिन्ताजनक रहेको बताइएको छ।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनापछि मोटरसाइकललाई धरान–३ तीनकुनेस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको धरान प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया