२ हप्ता अघि करेन्ट लागेर ज्यान गुमाएकी उदयपुरकी कार्की एसइईमा ३.४५ जिपिए ल्याएर उत्तीर्ण

शनिबार, १४ असार २०८२

उदयपुर : केही दिनअघि करेन्ट लागेर ज्यान गुमाएकी उदयपुर बेलका नगरपालिका–५ की १७ वर्षीया दुर्गा कार्कीको नाम एसइई नतिजामा चम्किरहँदा, उनको घरका परिवार भने  शोकमा डुबेको छ।

जीवनलाई उत्कृष्ट बनाउने सपना बोकेर परीक्षा हलमा छिरेकी दुर्गा अब यो संसारमा छैनन्। तर उनले बोकेका सपना र गरेका सङ्घर्षको चिनोको रूपमा हिजो सार्वजनिक भएको एसइई नतिजामा उनी ३.४५ जिपिएसहित उत्तीर्ण भएकी थिइन्।

नतिजा सार्वजनिक हुँदा दुर्गाका आमाबाबुको आँखामा खुसीको चमक होइन, पीडाले भरिएका आँसु छल्किए। 'दुर्गा त रहिनन्, तर उनको नतिजा आयो,' आमाले भक्कानिँदै भनिन्, 'कसरी मनाऊँ यो सफलता, जसका लागि मेरी छोरी नै छैनन् अब?'

यो सफलता त्यही थियो, जसको सपना दुर्गाले देखेकी थिइन्। तर त्यो दिन,जुन दिन उनले नतिजा देखेर मुस्कान फिँजाउनुपर्ने थियो, त्यही दिन उनकै नाममा आँसु बग्यो। 

गत जेठ ३० गते कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागेर दुर्गाको निधन भएको थियो।

दुःखद रूपमा ज्यान गुमाएको दुई हप्ता पछि सार्वजनिक भएको  (एसइई) को नतिजामा दुर्गाले ३.४५ जिपिए प्राप्त गर्दै सफलता हासिल गरेकी छिन्। तर, उनले आफ्नो कडा मेहनतको फल आफैँले हेर्न पाइएनन्।

“छोरीले धेरै मेहनत गरेकी थिई,नतिजा पनि राम्रो आयो,तर अब त्यो खुसी सँगै बाँड्ने कोही छैन,” दुर्गाका बुबा सञ्जीव कार्की भावुक हुँदै भन्छन्।

 बेलकाकै स्थानीय जनता माध्यमिक विद्यालयमा दुर्गा र उनका भाइ अध्ययनरत छन्। दुर्गाका भाइ हाल कक्षा ९ मा अध्ययन गरिरहेका छन्।

दुर्गाको नाम आज नतिजाको सूचीमा मात्र होइन,उनका आफन्तको हृदयमा पनि गहिरिएर बसेको छ,अधुरो सपना, अधुरो मुस्कान, तर पूर्ण मिहिनेतको साक्षी बनेर।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार