व्यावसायिक रूपमा नौमती बजाउँदै महिला

मंगलबार, २० फागुन २०८१
इलाम  : इलामको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाले व्यावसायिक रूपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरू यतिवेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभकार्यमा नौमती बजाउन व्यस्त छन् । उद्यमशील महिला समूह रोङ– २ की बबिता बोहरालाई झापाबाट नौमती बजाउन निम्तो आएको छ । झापाको बिर्तामोड, धुलाबारी, दमकलगायत क्षेत्रबाट फोन आउने गरेको बोहराले बताइन् ।  ‘हालसम्म सातवटा कार्जेमा नौमती बजायौँ । अझै वैशाखसम्मलाई फोन आइरहेको छ,’ उनले भनिन्, ‘हामी  पाँचदेखि ११ जनाको टोली जान्छौँ । कसैले १० हजार, कसैले १५ हजार त कसैले २०–२५ हजार दिने गर्नुभएको छ ।’ गीता कट्टेललाई नौमती बाजाको तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । ‘गाउँपालिकाले जुुराएको अवसर उपयोग गर्न सीप सिकौँ भनेर गएका थियौँ । तर, यसरी व्यावसायिक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन,’ कट्टेलले भनिन् । नौमती बजाउनेमा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन् । विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाका रूपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ । विगतमा नौमती छुइन्छ कि भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोकसंस्कृतिका रूपमा स्विकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए। उनले भने, ‘यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।’ महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिइएको थियो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिंगा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल हुन्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार