किशोरीहरूलाई बैङ्किङ लोकसेवा आयोग तयारी कक्षा सुरु

शनिबार, २४ फागुन २०८१
इलाम : इलाममा किशोरीहरूलाई निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर किशोरीहरूलाई दुई महिने बैङ्किङ लोकसेवा आयोग तयारी कक्षा सुरु गरिएको हो । आज अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर तालिमको उद्घाटन भएको छ । इलाम नगरपालिकाको सहयोग तथा नगर महिला समन्वय समिति इलामको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षाको सुरु भएको हो । तालिममा ४० जनाको सहभागिता रहेको समन्वय समिति इलामकी अध्यक्ष पुष्पा खनालले जानकारी दिइन् महिलाहरूलाई सक्षम बनाउने उद्देश्यले किशोरीहरूलाई तालिम प्रदान गरिएको उनको भनाई छ । इलाम नगरपालिका भित्रका किशोरीहरूलाई तालिम प्रदान गरिने छ । बैङ्कहरूमा काम गर्न चाहानेहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले तालिम सुरु भएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले बैङ्किङ लोकसेवा आयोग तयारी कक्षाले किशोरीहरू सक्षम हुने र रोजगारीको अवसर प्राप्त हुने अपेक्षा गरे । बिदेसिने जनशक्तिलाई रोक्न र यही नेपालमै जागिर गर्नका लागि समेत प्रेरणा मिल्ने प्रमुख थापाले बताए । सिक्न चाहानेहरुलाई तालिमले धेरै कुरा सिकाउने भन्दै इलाम नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले युवा लक्षित कार्यक्रम नगरपालिकाले राखेको बताए । इलाम नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा प्रवक्ता नूतन देव दुलालले वैदेशिक रोजगारीलाई रोक्न समेत तालिमले महत्त्वपूर्ण योगदान दिने सक्ने बताए । कार्यक्रममा इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ५ का वडाध्यक्ष, काजीमान श्रेष्ठ, ९ का वडाध्यक्ष दलमान तामाङ, महिला जागरण सङ्घकी कमला बराल लगायतले मन्तव्य राख्दै शिक्षामा पछिल्लो समय स्थानीय सरकारहरूले लगानी गरेको र प्रशिक्षार्थीहरूले मेहनत गर्नुपर्नेमा जोड दिए । तालिमलाई वाणिज्य बैङ्क इलामका दिनेश कट्टेल, महेश घिमिरे र प्रकाश कार्कीले प्रशिक्षण दिनुहुने नगर महिला समन्वय समिति इलामकी सचिव हरिकला श्रेष्ठले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार