पाँचथर । पाँचौं वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा आज (आइतबार) भारतको हिल्स फुटबल एकेडेमी र ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल दिउँसो २ः३० बजे फिदिम माविको खेलमैदानमा हुनेछ। पाहुना टोली हिल्स अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ भने चर्च ब्वाइज गत पुषमा यही मैदानमा फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको टोली भएकाले लगातार दोस्रो उपाधि जित्ने योजनामा रहनेछ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
शनिबार सुरु भएको प्रतियोगितामा आयोजक पाँचथर क्लबलाई २–० ले पराजित गर्दै इन्ट्रा पथरी ११ फुटबल क्लबले सेमिफाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ।
विजेता टोलीले ११ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।
प्रतिक्रिया