विराटनगर ट्रक व्यवसायी संघमा विवाद : गणपूरक संख्या नपुगेपछि अधिवेशन स्थगित

आइतबार, २५ फागुन २०८१
विराटनगर : विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा विवादका कारण स्थगित भएको छ । गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभइ अधिवेशन एवं साधारणसभा स्थगित भएको हो । विराटनगरमा शुक्रबार साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई वैधानिकता प्रदान गर्नका लागि संघमा आबद्ध कूल सदस्य संख्या दुई सय ५१ को दुईतिहाइ बहुमत सदस्य संख्या एक सय ६८ पुग्नुपर्ने थियो । तर, उपस्थिति पुस्तिकामा एक सय ४४ सदस्यले मात्र हस्ताक्षर गरेपछि गणपूरक संख्या नपुगेको हो । नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशनको उद्घाटन सत्रमा आयोजक कमिटिको निमन्त्रणा स्वीकार गर्दै उपस्थित भएका दुई पक्षले प्यानलसहित उम्मेदवारीसमेत घोषणा गरेका थिए । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा रहेको एउटा समूह र सदस्य नरबहादुर भण्डारी नेतृत्वको अर्को समूहले उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार सुरु गरेका थिए । तर, अन्तिम समयमा भण्डारी समूह र सिग्देल पक्षका सदस्यले ‘माइन्यूट’मा हस्ताक्षर नगरेपछि अधिवेशन स्थगित हुन पुगेको हो । यद्यपि, उद्घाटन सत्रमा भण्डारी समूहका भनिएका संघका पूर्वपदाधिकारी तथा सदस्यहरु अतिथिको आसन ग्रहण गरेर उद्घाटन सत्रको अन्त्यसम्म बसेका थिए । तर, उनीहरुले ‘माइन्यूट’ (साधारणसभाको उपस्थिति) मा हस्ताक्षर भने गरेनन् । भण्डारी पक्षले आएका केही सदस्यलाई समेत हस्ताक्षर नगर्न भन्दै कार्यक्रमबाट फर्कन दबाब दिएको व्यवसायीहरु बताउँछन् । संघका एक सदस्य भन्छन्, ‘आसनग्रहण गर्ने, माला र खादा लगाउने, अतिथिहरुसँग फोटो खिच्ने, जलपानमा सहभागी हुने । तर, ‘माइन्यूट’ पुस्तिकामा हस्ताक्षर नगर्ने यो कस्तो चालबाजी हो ?’ अन्तिम समयमा निर्वाचनमा हार व्यहोर्ने डरले भण्डारी समूहले उपस्थितिमा हस्ताक्षर नगरेर अधिवेशनमा भाँडभैलो गर्न खोजेको ती सदस्यको दाबी छ । सिग्देल समूहले निर्वाचनमा जित हात पार्ने पक्काजस्तै देखिएपछि भण्डारी समूह प्रतिस्पर्धाबाट भाग्न खोजेको आरोप उनले लगाए । साधारणसभामा उपस्थिति जनाउँदै हस्ताक्षर गरेर निर्वाचन प्रक्रियामा सहभागी भइ लोकतान्त्रिक पद्धतिको परिणाम स्वीकार गरेर जान उनले भण्डारी समूहलाई चुनौती दिए । भण्डारी पक्षले भने त्यो आरोपलाई अस्वीकार गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार भएको उद्घाटन सत्रमा राष्ट्रियसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक गोपी अछामी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव विशिष्ट अतिथि थिए । विराटनगर ट्रक व्यवसायी संघमा नेपाल सरकारले २०७९–०८० बाट ढुवानी सेवामा भ्याट लगाएपछि विवाद सृजना भएको हो । सरकारले भ्याट लगाएपछि व्यवसायीहरु २ कित्तामा बाँडिएका हुन् । सिग्देल समूह सरकारले लगाएको नियम मान्नुपर्ने जनाउँदै भ्याटको पक्षमा उभिएको थियो । भण्डारी समूह भ्याट खारेजीको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको थियो । अर्को विवाद भनेको भण्डारीले यसभन्दा निकै अगाडि संघको सदस्य रहेका बेला विराटनगर संघबाट अलग भएर मोरङ ट्रक संघ गठन गरी गतिविधि गरेका थिए । उनै भण्डारी पहिले संघविरुद्ध लागेर अलग हुने र अहिले आएर नेतृत्वमा आउन खोज्ने भन्दै अर्को समूह असन्तुष्ट भएको हो । दुई पक्षको इगो र जुँगाको लडाइँका कारण संघले अधिवेशनबाट नयाँ नेतृत्व पाउन सकेन । तत्कालका लागि पुरानै समिति यथावत रहने भएको छ । अब चाँडै बैठक बसेर साधारणसभाको नयाँ मिति घोषणा गरिने महासचिव रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार