धरानका नगर प्रमुखको योजनामा प्रतिष्ठानको असहमति, संरचना रोक्न माग

शुक्रबार, १६ फागुन २०८१
धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले पालिका तरकारी बजार निर्माणको शिलान्यास गरेपछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त निर्माण रोक्न आग्रह गरेको छ। नगर प्रमुख राईले बिहीबार प्रतिष्ठानको मूल गेट पश्चिमतर्फ रहेको ग्रिन वेल्ट क्षेत्रमा तरकारी सेड निर्माण गर्न शिलान्यास गरेका थिए । रु ६५ लाख ७० हजारको लागतमा न्यु थापा निर्माण सेवा कम्पनीले निर्माण सुरु गरेको हो। तर, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले विज्ञप्ति जारी गर्दै सो क्षेत्र प्रतिष्ठानकै क्षेत्राधिकारमा पर्ने भएकाले निर्माण रोक्न आग्रह गरेका छन्। प्रतिष्ठानका अनुसार सो क्षेत्र अस्पतालका लागि खुला राखिएको छ। त्यहाँ ४ सय शैय्याको मातृशिशु स्याहार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, जसले सुत्केरी आमा तथा नवजात शिशुको उपचार सेवा प्रदान गर्नेछ। साथै, नेपाल सरकारको पूर्ण अनुदानमा २ सय शैय्याको मुटुरोग उपचार केन्द्र तथा २ सय शैय्याको क्यान्सर रोग उपचार केन्द्रको निर्माण योजना रहेको छ। प्रतिष्ठानले भविष्यमा हुने यी निर्माण कार्यहरूलाई मध्यनजर गर्दै सो क्षेत्र खुला राख्नुपर्ने बताएको छ। धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष सुर्य बहादुर भट्टराईले नगर प्रमुखले वडासँग समन्वय नगरी तरकारी सेड बनाउन थालेको बताएका छन्। कार्यपालिका बैठकले धरानका १८ वडामा तरकारी सेड बनाउने निर्णय गरे पनि कुन स्थानमा कति बजेटमा बनाउने भन्ने टुंगो लागि नसकेको बताए। प्रतिष्ठान बाहिरको क्षेत्र वडा नं. १७ मा पर्ने भएकाले १८ नं. वडाले त्यहाँ निर्माण कार्य गर्न नमिल्ने भट्टराईको भनाइ छ। प्रतिष्ठानले धरानकै सम्पत्ति भएकाले यसको संरक्षण उपमहानगरपालिकाको दायित्व रहेको जनाएको छ। प्रतिष्ठानले कुनै पनि संरचना निर्माणअघि समन्वय आवश्यक रहेको बताउँदै पालिका बजार निर्माण सहमति बिना अघि नबढाउन आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार