जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा

शुक्रबार, १६ फागुन २०८१
काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी भएर शुक्रवार स्वदेश फर्किएपछि देउवाले सो प्रतिक्रिया दिएकी हुन् । मन्त्री डा.देउवाले गत मङ्गलवार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो । नेपाल फर्किएपछि मन्त्री डा.देउवाले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरहेको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् । संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री डा.देउवाले आग्रह गरिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र नेपाललाई सहयोग गर्ने वचन दिएको मन्त्री देउवाको भनाई रहेको छ । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् । यस्तै स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल भएको थियो । देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिवार जेनेभा गएकी थिइन् । उनी सहितको प्रतिनिधिमण्डल आज बिहान १०ः३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र उनी काठमाडौँ फर्किएकी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार