अरुण नदीमा बोलेरो खस्यो : दुईको उद्धार, पैदलयात्री घाइते

सोमबार, १५ बैशाख २०८२

विराटनगर : संखुवासभाको खाँदबारीबाट धनकुटातर्फ गइरहेको बोलेरो जिप अरुण नदीमा खस्दा दुई जना यात्रु उद्धार गरिएको छ । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो जिप धनर्मदेवी नगरपालिका ८ सुर्तीबारीबाट अनियन्त्रित भई अरुण नदीमा खसेको हो ।

जिपमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय गाडी धनी रमेश राई र मकालु गाउँपालिका ५ मांसिमाका २० वर्षीय चालक किरण गुरुङ सवार थिए । दुर्घटनापछि नदीमा खसेका दुवै जनालाई तैरिरहेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धारपछि उनीहरूलाई तुम्लिङटारस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ र दुबै जनाको अवस्था सामान्य रहेको डीएसपी बस्नेतले जानकारी दिएका छन् ।

बोलेरो गाडी भने हालसम्म फेला परेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा बोलेरोको खोजी कार्य जारी राखेको छ । “नदीमा गाडी देखिएको छैन, खोजी कार्य तीव्र पारिएको छ,“ बस्नेतले भने । घटनास्थलमा डीएसपी बस्नेत स्वयंको नेतृत्वमा टोली परिचालित गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार बोलेरोले चैनपुर नगरपालिका ११ का ६६ वर्षीय पैदलयात्री ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएको थियो । ठक्करपछि गाडी अनियन्त्रित भई नदीमा खसेको हो । ठक्करबाट घाइते भएका पाण्डेको अवस्था पनि सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार