मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा

सोमबार, १५ बैशाख २०८२

वासिङ्टन डीसी ।  अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनबाट विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई निःसन्देह फाइदा भएको छ । पछिल्ला केही महिनाहरूमा वासिङ्टनको राजनीतिक करिडोरमा उनको शक्ति उल्लेखनीय रूपमा बढेको छ ।

तर, यसैबिच उनको लोकप्रियता र सम्पत्तिमा भने उच्च कमी आएको छ । एसोसिएटेड प्रेस र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको सर्वेक्षण अनुसार टेक मुगल र विश्वको सबैभन्दा धनी व्यक्ति मस्कले हालैका महिनाहरूमा वाशिंगटनमा आफ्नो शक्ति बढेको देखेका छन् । 

तर उनको लोकप्रियता घटेको छ । सर्वेक्षणअनुसार अमेरिकी वयस्कहरूमध्ये केवल ३३ प्रतिशतले मात्रै मस्कबारे सकारात्मक दृष्टिकोण राखेका छन् । डिसेम्बरमा भएको यही सर्वेक्षणमा यो ४१ प्रतिशत थियो । सरकारी खर्च कटौती र सरकारी खर्चको पुनर्संरचना गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको अनुहार हुन् मस्क । तर अहिले ट्रम्प पनि अलोकप्रिय बन्दै गएका छन् । 

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार पछिल्लो एक वर्षमा मस्कको सम्पत्ति ९७ अर्ब ७० करोड डलरले घटेको छ । तर, विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा मस्कको उपाधि कसैले पनि खोस्न सकेका छैनन् । ३३५ अर्ब डलरको कुल सम्पत्तिका साथ उनी अझै पनि विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार