छाता ऐन बीपीका लागि मात्रै होइन : स्वास्थ्य मन्त्री पौडेल

शनिबार, १४ असार २०८२

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२ (छाता ऐन) केवल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान) लक्षित नभई देशभरका अन्य स्वास्थ्य प्रतिष्ठानहरूलाई समेट्ने उद्देश्यका साथ ल्याइएको स्पष्ट पारेका छन ।

काठमाडौंबाट सरकार र राजनीतिक दलहरूलाई ज्ञापन बुझाउन पुगेका धरानका विभिन्न दलहरूको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले बीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने मागलाई सकारात्मक रूपमा लिँदै ऐनको विरोध नगर्न आग्रह गरेका छन।

मन्त्री पौडेलले बीपी प्रतिष्ठान आफैं सक्षम भए पनि अन्य स्वास्थ्य प्रतिष्ठानहरूमा पदहरू अत्यधिक हुँदा खर्च धान्न नसकिने अवस्था आएको भन्दै सम्पूर्ण संरचना व्यवस्थित र मितव्ययी बनाउने उद्देश्यले ऐन ल्याइएको उल्लेख गरे ।

प्रतिनिधिमण्डलमा सहभागी नेकपा (एमाले) कोशी प्रदेशका नेता भीमज्वाला राईका अनुसार,मन्त्री पौडेलले ऐन कुनै एक प्रतिष्ठानका लागि मात्र नभई साझा सुधारको प्रयास रहेको धारणा राखे ।

सरकारद्वारा जारी गरिएको छाता ऐनअन्तर्गत बीपी प्रतिष्ठानसहित मुलुकका अन्य ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एउटै कानुनी ढाँचामा ल्याउने प्रयास गरिएको छ। तर, धरानका प्रमुख दलहरूले यो प्रावधान बीपी प्रतिष्ठानको स्वायत्तता र भावनाविपरीत रहेको भन्दै विरोध जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरूले बीपी प्रतिष्ठानलाई छाता ऐनबाट अलग राखी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग राख्दै असार १२ गतेदेखि काठमाडौंमा सक्रिय राजनीतिक दबाब सिर्जना गरिरहेका छन्।

सर्वदलीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा लगायतसँग भेट गरी ऐनको पुनर्विचारका लागि आग्रह गरिसकेको छ।

टोलीमा भीमज्वाला राई (एमाले), श्याम पोखरेल (नेपाली कांग्रेस), उद्धव लिम्बू (माओवादी केन्द्र), ताजुब लिम्बू (जसपा),सूर्यप्रसाद भट्टराई (धरान उपमहानगर प्रवक्ता) लगायत प्रदेश तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

कांग्रेस धरान सभापति श्याम पोखरेलका अनुसार, टोलीले शनिबार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार