इटहरी : आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको पूर्वसन्ध्यामा पूर्वाञ्चल क्याम्पसमा चुनावी माहोल तातेको छ।
विभिन्न विद्यार्थी संगठनहरू आआफ्ना उम्मेदवारका पक्षमा सक्रिय रूपमा प्रचारप्रसार गरिरहेका छन्। यस्तैमा, नेपाल विद्यार्थी संघका तर्फबाट सभापति पदका उम्मेदवार सागर बस्याल नेतृत्व क्षमता, अनुसन्धान तथा विद्यार्थी हितका विषयमा प्रतिबद्ध उम्मेदवारका रूपमा अगाडि आएका छन्।
सागर बस्याल विद्यार्थीका समस्याहरू समाधान गर्न निरन्तर लागिपरेका छन्। “हरेक विद्यार्थीको समस्या मेरो समस्या हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै उनले शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका लागि विभिन्न तहमा पहल गरेका छन्। सहज र समावेशी नेतृत्व दिन आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।
उनको चुनावी अभियान क्याम्पसका प्रशासनिक सुधार, शैक्षिक गुणस्तर वृद्धिका साथै पुस्तकालय तथा प्रयोगशालाको आधुनिकीकरणमा केन्द्रित छ। खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूका लागि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्नु उनको प्रमुख योजना हो।
सागर बस्याल अनुसन्धान क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। हालै मात्र उनको “आरसीसी व्यापारिक भवनको संरचनात्मक विश्लेषण तथा भूकम्प प्रतिरोधी डिजाइन” सम्बन्धी अनुसन्धानपत्र स्वीकृत भएको छ, जुन भूकम्पीय जोखिम न्यूनीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। आगामी असार महिनामा उनी आफ्नो अनुसन्धान टोलीसहित भारतको प्रतिष्ठित आईआईटी तिरुपति विश्वविद्यालय जाने तयारीमा छन्।
उनले विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनतर्फ अभिप्रेरित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने योजनासमेत अघि सारेका छन्। साथै, प्रशासनिक सेवा सुधार, छात्रवृत्ति वितरणको पारदर्शिता र विद्यार्थीहरूका लागि विभिन्न तालिम तथा करियर गाइड कार्यक्रम सञ्चालनलाई उनले प्राथमिकता दिएका छन्।
स्ववियु चुनाव विद्यार्थी राजनीतिभन्दा पनि उनीहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्ने माध्यम हो। यस सन्दर्भमा, सागर बस्यालको उम्मेदवारीले पूर्वाञ्चल क्याम्पसमा नयाँ सोचसहितको नेतृत्व स्थापित गर्ने विश्वास गरिएको छ।
उनी विजयी भएमा, क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्याउने विद्यार्थीहरूको आशा छ।
प्रतिक्रिया