प्रथम सन्दकपुर महोत्सव आज सुरू

शुक्रबार, २४ चैत्र २०७९
इलाम । प्रथम सन्दकपुर महोत्सव आज शुक्रबार सुरु हुँदैछ । महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ । धेरै पर्यटकीय गन्तव्यहरु रहेको सन्दकपुर गाउँपालिकामा पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव गर्न लागिएको हो । सन्दकपुर महोत्सव मूल आयोजक समिति गठन गरेर यसको तयारी थालिएको हो । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध राष्ट्र निर्माणको सघन निकास’ भन्ने मूल नाराका साथ आयोजन हुने महोत्सव १० वैसाखसम्म संचालन हुनेछ । महोत्सवमा एक लाख लाख आन्तरिक र बाह्य पर्यटक भित्रियाउने लक्ष लिइएको छ । महोत्सवअन्तर्गत आजबाट आमन्त्रित फुटवल प्रतियोगिता हुँदैछ । नयाँ वर्षको दिन वैशाख १ गते पुरुष र महिलाको फरक–फरक म्याराथन प्रतियोगिता हुनेछ । खुल्ला इलाम माईपोखरी माराथुन पतियोगितामा पुरुषतर्फ इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि सन्दकपुरको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथन हुनेछ । इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित र चलायमान गराउन प्रतियोगिता संचालन गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आयोजकले जनाएको छ । जिल्लाबाहिरबाट आउने धावकका लागि प्रतियोगिताको अघिल्लो दिनको खाना र बासको व्यवस्था आयोजकले गरेको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतीलगायत राखिएको छ । महोत्सवमा आउने पर्यटकले जिल्लाकै अग्लो डाँडो सन्दकपुर, रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सक्ने बताइएको छ । ब्राह्मण–क्षेत्रीलगायत गुरुङ, राई, शेर्पा, सुनुवार, जातजातिको बसोबास रहेको क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको आयोजक मूल समारोह समितिका सचिव रुपेन नेम्वाङले बताए । सन्दकपुर, मानेभञ्ज्याङ र सीमा जोडिएको भारतका दार्जिलिङ, कर्साङ, चिम्नी, टाइगरहिल, जोबवंगला, सुकियापोखरीतिरबाट पर्यटकहरू बर्सेनि साइकलमा यस क्षेत्रमा आउने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार