झगडा गरेर खेल क्षेत्रको विकास हुँदैन : मन्त्री चौधरी

मंगलबार, ०५ चैत्र २०८१
काठमाडौँ : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि वातावरण सहज बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलवार ललितपुरमा आयोजित कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक कार्यक्रममा उनले एक आपसमा लडिरहने, झगडा गरिराख्ने र खेलाडीहरूको बारेमा नसोच्ने हो भने खेल क्षेत्र विकास हुन नसक्ने भन्दै यसको लागि आवश्यक पहल गर्न मन्त्रालय तयार रहेको बताए । उनले भने, ‘हामी सधैँ एक आपसमा लडिरहने, झगडा गरिराख्ने हो भने खेलाडीहरूको प्रगति कसरी हुन्छ । खेलाडीहरूको बारेमा सोच्दै नसोच्ने, जहिले पनि मुद्दामा मात्र जाने हो भने यो क्षेत्रको पनि विकास सम्भव हुदैँन् । समस्या सम्बोधन गर्न र वातावरण सहज बनाउन हामी तयार छौ ।’ यसको साथै, उनले सङ्घहरू नियम अनुसार नियमित सञ्चालन नभएको भन्दै संस्थाहरूलाई नियमित भएर चल्न पनि आग्रह गरेका छन् । उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को ठुलो इतिहास छ । तर अहिले पनि खेलकुदलाई व्यवस्थित तरिकाबाट अगाडि बढाउन सकेको छैन । ओलम्पिक कमिटी र सङ्घका साथीहरूलाई पुनः आग्रह गर्न चाहन्छ, तपाईँहरू सबै नियमित हुनुपर्छ । किनभने धेरै जस्तो सङ्घहरू हाम्रो नियम अनुसार नियमित छैनन् । संस्थाहरूलाई सधैँ टालटुल गरेर सञ्चालन गर्नु हुदैँन् ।’ आगामी वर्षको बजेटमा खेलाडी र रिटायर भएका खेलाडीहरूको छोराछोरीलाई प्याबसन र एनप्याबसनले छात्रवृत्ति दिने कुरा केही दिनभित्र टुङ्गो लाग्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार