विराटनगर : मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो ।
नाबालिकाको शव पोस्टमार्टमपछि परिवारले जिम्मा लिएको उनले बताए । घरमा आगो लागेपछि भित्रै जलेर उनको मृत्यु भएको जोशीले बताए ।
उनका अनुसार आगोले १३ परिवारको १६ वटा फुसको घर, भान्सा घर ३ वटा र गाई गोठ २ वटा जलेका छन् । मंगलबार दिउँसो १२ः३० बजेतिर आगलागी सुरु भएको थियो । विभिन्न ठाउँबाट गएका दमकल र स्थानीयको सहयोगमा आयो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो । आगलागीमा परेर २ बालबालिकाको मृत्यु भएको भनिएको थियो । बालक भने पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको जोशीले बताए ।
उनका अनुसार मोहमद हासिम मियाँ, इस्ताक मियाँ, इसाद मियाँ, मोहमद मुस्ताक मियाँ, कुर्सिद मियाँ, अन्सारुल मियाँ, मोहमद हनिफ मियाँ, सलमान मियाँ, मोहमद रजाक मियाँ, मुर्सिद मियाँ, चन्दन पुरी, शिवनारायण पुरी र देवनारायण पुरीको घर तथा गोठहरु जलेर ध्वस्त भएको छ ।
आगलागीमा कति बराबरको क्षति भयो भनेर प्रहरीले यकिन गरिसकेको छैन । २ वटा बाख्रा पनि जलेर मरेका छन् ।
प्रतिक्रिया