धरानमा पहिलो पटक रात्रिकालीन गोधुली रनिङ कप फुटबल प्रतियोगिता हुँदै

बुधबार, ०६ चैत्र २०८१
धरान । २५ औँ गोधुली रनिङ कप फुटबल प्रतियोगितामा पहिलो पटक रात्रिकालीन खेल आयोजना गरिने भएको छ। प्रतियोगिता भोलि, चैत्र ७ गतेदेखि धरान रंगशालामा सुरु हुनेछ। धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २५ औँ संस्करण गोधुली टेस्टि टेस्टी नुडल्स फुटबल प्रतियोगिताको रूपमा सम्पन्न हुने आयोजकले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको पहिलो खेल बिहीबार साँझ ७ बजे वडा नम्बर ५ र वडा नम्बर १६ बिच हुनेछ। गोधुली क्लबका उपाध्यक्ष सतिश केसीका अनुसार प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले गर्नेछन्। उद्घाटन समारोहमा लोकप्रिय गायक पूर्ण राई एण्ड दाजुभाइको साङ्गीतिक प्रस्तुति समेत रहनेछ। धरानमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्दै उपाध्यक्ष केसीले खेलका लागि फ्रन्ट लाइटको व्यवस्था गरिएको बताए। धरानको फुटबल विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको यस प्रतियोगिताले खेलाडीहरूको क्षमता उजागर गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले रनिङ कपसहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता (हाई स्कोरर) लाई ७ हजार ५ सय, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी, म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, तथा उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसै गरी, उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई समापन समारोहमा सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। धरान वडा नम्बर १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले विजेता र उपविजेताका लागि २५/२५ हजार रुपैयाँ पुरस्कार राशिमा थप्ने घोषणा गरेका छन्। गोधुली फुटबल प्रतियोगिता सन् २०५० देखि सुरु भएको हो। अघिल्लो वर्ष २४ औँ संस्करणको विजेता वडा नम्बर १३ रहेको थियो भने २३ औँ संस्करणको विजेता वडा नम्बर १७ थियो। प्रतियोगिताको कुल अनुमानित खर्च २४ लाख १८ हजार ३३ रुपैयाँ रहेको आयोजकले जानकारी गराएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार