नेपालमा हिमतालहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमण्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौँ। खैरा छालाले अङ्ग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा थप प्रमाणको आवश्यकताको माग गर्ने हाम्रा ब्युरोक्रेसीको चरित्रको तीतो अनुभवबाट यो लेखक अज्ञात छैन। यसमा कति कानुनी बाध्यता होलान् त कति समय र खर्च बढाउने अभिप्राय पनि होलान्। तर पनि यस विश्व पानी दिवस-२०२५ जुन प्रत्येक वर्ष मार्च २२ का दिनमा मनाइन्छ, यसको नारा पनि हिमनदी संरक्षण रहेको र नेपालमा हुँदै गरेको सगरमाथा संवाद २०८२ जेठ २, ३ र ४ को पूर्व सन्ध्यामा छोटो विवेचना गर्ने प्रयास गरेँ। जलवायु परिवर्तनका कारण विश्वको लगभग ७० प्रतिशत ताजा पानी आपूर्ति गर्ने हिमनदी र बरफका पत्रहरू अतिरिक्त गतिमा पग्लिँदै जाँदा, करोडौँ मानिसहरूको लागि दीर्घकालीन पानीको स्रोत खतरामा पर्ने देखिन्छ। हिमनदीहरू हराउँदै जाने दरमा वृद्धि भएका कारण संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ।- प्रकाश रेग्मी
प्रतिक्रिया