इटहरी। सुनसरीबाट प्रहरीले गुडिया भित्र लुकाइएको ठूलो परिमाणमा गाँजा बरामद गरी एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२ भदौ ५ गते साँझ करिब ६ः३० बजे कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ यात्रुवाहक बस रोकी जाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला परेको थियो।
ती डलहरू खोलेर जाँच गर्दा १०.९४ किलोग्राम (दश किलोग्राम नौ सय चालिस ग्राम) तौल भएको गाँजा जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
सोही बसमा सवार धनकुटा जिल्ला, सहिद भूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्रबहादुर राईले उक्त डल आफ्नो भएको स्वीकार गरेका थिए। उनलाई तत्कालै लागू औषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सूचनाको आधारमा निगरानी बढाएको समेत जनाएको छ।
प्रतिक्रिया