काठमाडौं : माओवादी केन्द्र उपाध्यक्ष अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चा नेपालले शुक्रवार(चैत्र १५ गते) काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् । सापकोटाले चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रवार नै गर्न लागेको जानकारी दिए ।
‘चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ । त्यसलाई अलि अगाडि १५ गते लाई सारेका हौँ । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिनेछौं । प्रदर्शनका लागि तयारी घनिभूत रूपमा भइरहेको छ । हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरूले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सी, जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठुलो महत्त्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उनले भने ।
राजावादीको कार्यक्रम आफूहरूलाई थाहा नभएको भन्दै सापकोटाले एकै दिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने, परिस्थिति भड्कन नदिने गरी काम गरिरहेका छौं । व्यवस्थित शालीन, भद्र हुने छ । स्तरीय हुने छ,’ उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौँ । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ ।’
प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान विन्दु पनि भएकाले देखिएका विकृति विसङगतिहरुको विरुद्ध केन्द्रित हुने उनको भनाइ छ । त्यसैले प्रदर्शन बहु आयामिक महत्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उनको बुझाई छ ।
सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोशका लागि प्रदर्शन उपयोगी हुने उनले जानकारी दिए ।
‘यही मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन । बिना आधार उनीहरू उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकि अहिलेको यो असन्तुष्टि व्यवस्थाप्रतिको, लोकतन्त्रप्रतिको, गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षताप्रतिको असन्तुष्टि होइन । यो सरकारले जुन उल्टो गति लिइरहेको छ । यसले गर्दा जनतमा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन् ।’ उपाध्यक्ष सापकोटाले भने
इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न नसकिने उनको दाबी छ । ‘युवाहरू यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर त्यसको अर्थ उनीहरू पछाडि फर्कन चाहँदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’ उनी थप्छन् ।
वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलो बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उनको भनाई छ ।
प्रतिक्रिया