विराटनगरलगायत आसपासमा बाक्लो हुस्सु, के भन्छन् मौसमविद् ?

शनिबार, १६ चैत्र २०८१
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरलगायत आसपासका स्थानमा आज (शनिबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चैत महिनामा प्राय हुस्सु लाग्दैन । तर, यही महिनाको दोस्रो साता सकिँदा एकाबिहानै हुस्सु लागेको छ । हुस्सुका कारण अलि परका वस्तुसमेत देख्न सकिने अवस्था छैन । सवारी दुर्घटना हुनसक्ने जोखिमसमेत बढेको छ । ट्राफिक प्रहरीले दुर्घटनाको जोखिम बढेकाले सावधानीपूर्वक सवारीसाधन चलाउन चालकहरुलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार हुस्सु एवं कुहिरो लागे पनि वर्षा भने भएको छैन । चैत महिनामा के कारणले हुस्सु लागेको हो भनेर यकिन छैन । यद्यपि, मौसम पूर्वानुमान महाशाखाले भने स्थानीय वायुको आंशिक प्रभावका कारण हुस्सु लागेको हुनसक्ने जनाएको छ । अहिले मुलुकमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘अहिले हुस्सुको सिजन हैन । अब हुस्सु विस्तारै हटेर जाने सिजन हो । ‘वीन्टर’ सिजनबाट हामी ‘प्रि’ मनसुस सिजनमा छौं । ‘प्रि’ मनसुनको सुरुको महिना भएकाले बिहानको समयमा हुस्सु लागेको हुनसक्छ,’ उनले भने, ‘बिहान लागे पनि दिउँसो हट्छ । बिहानको समयमा स्थिर वायुमण्डल रहन्छ । प्रदूषण पनि बढी हुनसक्छ । पानी नपरेकाले प्रदूषणका कारणबाट पनि यस्तो भएको हुनसक्छ ।’ बिहानको समयमा हुस्सु लागे पनि दिउँसो विस्तारै हट्दै जाने जानकारी अधिकारीले दिए । ‘अहिले हुस्सु लाग्ने सिजन हैन । लागेको हुुस्सु पनि लामो समयसम्म रहँदैन । यो तापक्रम बढ्दै जाने समय हो । अब दिनप्रति दिन तापक्रम बढ्दै गएर गर्मी धेरै हुने देखिन्छ,’ उनले भने । केही दिनयता मुलुकको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको मौसमविद् अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार