शुक्रवारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा हो, कडा कारबाही होस : सापकोटा

शनिबार, १६ चैत्र २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले शुक्रवारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जबाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार गरेको प्रदर्शन विध्वंसको पराकाष्ठा भएको बताएका हुन् । ‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रवार गरेको प्रदर्शन विध्वंसको पराकाष्ठा थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरू लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भर्त्सना एवं निन्दा गर्दछु,’उनले लेखेका छन् । उनले शुक्रवारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कालिक रूपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उद्दण्ड जत्थालाई एकैसाथ मुख तोड जवाफ दिएको बताए । यसका साथै उनले जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसे ढुङ्गाको काम गरेको पनि बताए । प्रवक्ता सापकोटाले जनसभामा सहभागिता भएकाहरूलाई धन्यवाद समेत दिएका छन् ।  

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार