काठमाडौँ : राप्रपा महामन्त्री धवल शमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्।
राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न राप्रपा नेताहरू तथा राणाका आफन्तले प्रहरीलाई आग्रह गरेका थिए।
राणा राम्रोसँग खाना खानसमेत सक्दैनन्। उनी मुखको एकपट्टिबाट हल्का मात्रै चपाउन सक्छन्। उनी सामान्य तरिकाले बनाइएको खाना मात्रै निल्न सक्छन्।
'साह्रो खाना उहाँ खान सक्नुहुन्न, उहाँले हल्का खाना मात्रै चपाएर निल्न सक्नुहुन्छ,' उनका एक आफन्तले भने।
ती आफन्त आइतबार राणाको अवस्थाबारे अवगत गराउन जिल्ला प्रहरी परिसर काठमाडौँ गएका थिए। ती आफन्तले राणाको स्वास्थ्य अवस्थाको ख्याल गरिदिन अनुरोध गरेका थिए।
हिरासतमा सबैलाई समान व्यवहार गरिने तर कसुर अनुसार कानुनी कारबाहीमा प्रहरी नचुक्ने प्रहरी अधिकृतले आफन्तलाई बताएका थिए।
राणा शुक्रवार भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा तीनकुने पुगेका थिए। राजावादीको आन्दोलन हिंसात्मक भएको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरिएको थियो। उनीसँगै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पनि पक्राउ गरिएको थियो।
‘हिरासत कक्षमा हामीले कुनै भेदभाव गरेका छैनौँ, उहाँहरूलाई कुनै पनि सुविधाबाट वञ्चित गरिएको छैन,’ एक प्रहरी अधिकृतले भने। आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईँ फरार छन्। उनलाई पक्राउ गर्न नेपालका सबै प्रहरी युनिट परिचालित छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ४१ जनालाई विभिन्न मुद्दामा अनुसन्धानका लागि पेस गरिएकोमा जिल्ला अदालत काठमाडौँले पाँच दिन थुनामा राख्न आइतबार साँझ अनुमति दिएको हो।
मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा थुनामा राख्न अनुमति मागिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।
प्रहरीले आइतबार ४१ जनाविरुद्ध विभिन्न कसुरमा मुद्दा अगाडि बढाउन अदालतमा अनुमति मागेको थियो।
यसमा राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि थुनामा राख्न माग गरिएको छ।
त्यसैगरी, ४१ जनालाई नै आपराधिक उपद्रव र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता बोहराले बताए।
बोहराका अनुसार अहिले ४१ जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधमा अनुसन्धान थालिएको छ।
शुक्रवार नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईँ, राजसंस्था पुनस्स्थापनाका लागि जनआन्दोलन समितिले तीनकुनेमा सभा गर्दा घटना घटेको थियो।
शुक्रवार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो।
सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएपछि सरकार आक्रामक भएको हो।
यस क्रममा प्रहरीले सय बढी व्यक्ति तथा राजनीतिक दलका नेतासमेतलाई पक्राउ गरेको छ। रजक एभिन्यूज टिभीका क्यामरा पर्सन थिए। तीनकुनेको घरमा आगजनी हुँदा उनको जलेर मृत्यु भएको थियो।
महर्जनमाथि भने प्रहरीले गोली प्रहार गरेको थियो। गोली प्रहारपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनको मृत्यु भएको थियो।
प्रसाईँ अहिले फरार छन्। फरारबाहेक अन्यलाई विभिन्न मुद्दामा अनुसन्धान गर्न अदालतमा पेस गरिएको बोहराले बताए।
प्रतिक्रिया