गणतन्त्रको पक्षमा आज देशैभर एमालेको जागरणसभा

सोमबार, १८ चैत्र २०८१
काठमाडौं : पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा आमजनतालाई सचेत गराउने उद्देश्यले नेकपा (एमाले)ले आज देशैभर जागरणसभा गर्दैछ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गर्न लागेको बताइएको छ । पछिल्लो समय तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रमअन्तर्गत आज धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा बृहत् मोटरसाइकल र्‍याली आयोजना हुन लागेको हो । एमालेले आज (चैत १८ गते) सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्नेछ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका शहरहरू-धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने एमालेले जनाएको छ । आज जागरणसभा नहुने जिल्लामा बृहत् मोटरसाइकल र्‍याली हुने एमालेले जनाएको छ । जनसचेतना कार्यक्रमअन्तर्गत एमालेले गत चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गरेको थियो । गत चैत ६ गते महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए । यसैबीच, हिजो आइतबार बसेको एमालेको सचिवालय बैठकले शुक्रबार राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भत्र्सना गरेको छ । बैठकले अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषी उपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । विज्ञप्तिमार्फत एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान पनि गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार