विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने सुनिश्चित भएसँगै प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरु गरेको छ। यसअघि माघ महिनामा सम्मेलन गर्ने तयारी गरिएको भए पनि प्राविधिक कारणले पछि सारिएको थियो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पूर्व मुख्यमन्त्रीहरूसँग सम्मेलनका सम्भावना, अवसर र चुनौतीबारे छलफल गरे । बैठकमा पूर्वमुख्यमन्त्री भीम आचार्य, उद्धव थापा, प्रदेश सरकारका मन्त्री, सचिव तथा अन्य सरोकारवालाहरू सहभागी थिए। छलफलका क्रममा पूर्व मुख्यमन्त्रीहरूले सम्मेलनलाई सफल बनाउन प्रतिवद्धता जनाए।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचना अघि बढाउन कठिनाइ भइरहे पनि भविष्यलाई सुनिश्चित गर्न र लगानीमैत्री वातावरण बनाउन सम्मेलन आयोजना गरिएको बताए। कार्कीले पहिलोपटक हुन लागेको सम्मेलनका चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्ने स्पष्ट पारे।
पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश र संघीय कानुनमा आवश्यक संशोधन गरी लगानीकर्तालाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। थापाले संघीय सरकारसँग समन्वय गरेर जटिल कानुनहरू सुधार्नुपर्ने र केही करहरूमा छुटको पहल गर्नुपर्ने बताए।
पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेशको समृद्धिका लागि नयाँ र सिर्जनात्मक परियोजनाहरू अघि सार्नुपर्ने बताए। आचार्यले पानी, वन र खानीसम्बन्धी आयोजना सञ्चालन गरी आर्थिक लाभ लिन सकिने उल्लेख गरे ।
लगानीकर्ताका लागि सहज वातावरण बनाउने र सुशासनमा ध्यान दिए प्रदेशमा ठूलो लगानी भित्र्याउन सकिने उनको भनाइ थियो।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा करिब एक खर्ब लगानी भित्र्याउने तयारी गरेको छ। सम्मेलनमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा, सूचना प्रविधि र फोहोरमैला व्यवस्थापन गरी करिब १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका ५४ वटा परियोजना प्रस्तुत गरिनेछ।
लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार उद्योग क्षेत्रमा ६५ अर्ब ४० करोड र पर्यटन क्षेत्रमा ३५ अर्ब ९७ करोड बराबरका परियोजना सम्मेलनमा प्रस्तुत गरिनेछ।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ।
सरोकारवालासँगको छलफल तथा आवश्यक कानुनी व्यवस्था पूरा गर्न सरकारले आफ्ना १२ वटा ऐन संशोधन गर्ने र दुईवटा नयाँ ऐन संसदमा अघि बढाउने योजना बनाएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया