मुलुकभर ईद उल फित्र मनाइयो

सोमबार, १८ चैत्र २०८१
काठमाडौं : ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् । आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले आज बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन् । नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले बताए । सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा कुल जनसंख्यायाको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदाय छ । तराई-मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार