इटहरी : इटहरीमा दोस्रो इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ।
इटहरी उपमहानगरपालिका र सेभेन स्टार क्लबको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही चैत २१ गतेदेखि ३० गतेसम्म जनता क्रिकेट पार्क, इटहरी ९ मा सञ्चालन गरिने छ।
प्रतियोगिताबारे मङ्गलवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रतियोगितामा १८ टिम सहभागी हुनेछन्, जसमा कोशी प्रदेशका विभिन्न जिल्लाका नगर तथा गाउँपालिकाका टिमहरू रहनेछन्। कुल १७ खेल खेलाइने यस प्रतियोगिता २० २० ओभरको नकआउट आधारमा सञ्चालन हुनेछ।
प्रतियोगिता आइसिसी नियमअनुसार खेलाइनेछ। विजेताले नगद रु १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
म्यान अफ द सिरिजलाई रु ७ हजार सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु चार चार हजार नगद प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु। १ हजार ५०० पुरस्कार प्रदान गरिनेछ।
सेभेन स्टार क्लबका अध्यक्ष नवराज पोखरेलले इटहरीमा स्तरीय खेल मैदान आवश्यक रहेको बताएका छन्। उनले इटहरी क्षेत्रलाई क्रिकेट हबको रूपमा विकास गर्नका लागि मैदान निर्माण आवश्यक रहेको औँल्याए।
इटहरीका मेयर हेमकर्ण पौडेलले क्रिकेटको विकासका लागि इटहरी उपमहानगरपालिकाले बजेटमार्फत सम्बोधन गर्ने बताएका छन्। उनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।
यस प्रतियोगिताको अनुमानित लागत रु १९ लाख ४० हजार ५०० रहेको छ भने अनुमानित आम्दानी रु १९ लाख ६० हजार ५०० रहेको छ।
प्रतियोगितालाई सफल बनाउन सेभेन स्टार क्लबले इटहरीवासी, क्रिकेट प्रेमी तथा सञ्चारकर्मीहरूलाई मैदानमै उपस्थित भएर खेलको समर्थन गर्न आग्रह गरेको छ।
प्रतिक्रिया