पाँचथर: पाँचथरको फिदिम १३ जौवारीस्थित जंगलमा लागेको डढेलोमा फसेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राई नेम्वाङको शुक्रबार मध्यान्ह निधन भएपछि डढेलोका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
यसअघि, कुम्मायक गाउँपालिका–३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहीबार राति उपचारका लागि लैजाने क्रममा निधन भएको थियो।
नेम्वाङलाई एम्बुलेन्समार्फत काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पताल लैजाँदै गर्दा सिन्धुलीको खुर्कोट पुग्दा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
यसैबीच, पाँचथरको फिदिम नगरपालिका १३, ४, र १० का सार्वजनिक तथा निजी वनमा डढेलो लगाएको आरोपमा चार जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका–१३ का नन्दकेशर नेम्वाङ, ४ की सकमाया तामाङ, फिदिम–१० की सजिता खजुम र दिलु खजुम रहेका छन्।
प्रतिक्रिया