विराटनगर : विराटनगरमा पछिल्ला ६ दिनदेखि लगातार मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ। मोरङ प्रहरीले दिएको जानकारी अनुसार कोशी अस्पताल क्षेत्र वरिपरि मात्रै तीनवटा मोटरसाइकल चोरी भएका छन्।
चोरीमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, जसमा एक जना १८ वर्षमुनिका छन्।
मंगलबार दिउँसो कोशी अस्पताल परिसरबाट हराएको प्र. १–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल खोज्दै जाँदा प्रहरीले नेपाल–भारत सीमाबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र सोही स्थानका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार यी दुई जनाले यसअघि चोरी गरेका मोटरसाइकल भारतमा पुर्याएर बेचेर फर्किएका थिए।
त्यसपछि उनीहरू पुनः अर्को मोटरसाइकल चोर्न सीमावर्ती क्षेत्रमा पुगेका बेला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र रानी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यो समूहले चोरेका मोटरसाइकल भारतमा लगेर बिक्री गर्ने गरेको खुलेको छ। गिरोहमा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने शंका प्रहरीले जनाएको छ र खोजी कार्य तीव्र बनाइएको छ। हालसम्म चोरी भएका ६ वटा मोटरसाइकलमध्ये एउटा मात्र फेला परेको छ।
प्रतिक्रिया