कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

विहीबार, २८ चैत्र २०८१
काठमाडौं । नेपालले हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट इनिङ खेले । कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मदतमा ८१ रनको अर्धशतकीय पारी योगदान गरे । यस्तै, आशिफले ३८ बलमा ४ छक्काको मदतमा ५३ रन जोडे । ओपनरद्वय नै आउट भएपछि खेल कुवेततिर ढल्किएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडेर नेपाललाई जिततर्फ फर्काएका थिए । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे । त्यसपछि क्रिज सम्हाल्न आएका गुलसन झाले ३ बल खेलेर २ चौकाको मदतमा ९ रन जोडे । त्यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको हो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्काको मदतमा ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवान १५ बलमै २६ रन बनाएर आउट हुँदा मिट भावासरले ३५ रन जोडे । विलाल ताहिरले १३ बलमा ४ छक्काको मदतमा ३२ रन जोड्दा कप्तान मोहम्मद अस्लाम १७ रनमा समेटिए । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो । यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।  सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार