धरानको जङ्गलमा हत्या गरेर फालिएको शव इटहरी बस्दै आएकी दहालको रहेको पुष्टि

विहीबार, २८ चैत्र २०८१
विराटनगर। सुनसरीको धरानमा हत्या गरि फालेको अवस्थामा शव फेला परेको महिलाको पहिचान खुलेको छ। शव इटहरी उपमहानगरपालिका २, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीय चुनकुमारी दाहाल बुढाथोकीको रहेको पुष्टि भएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए अनुसार, मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका १ का निवासी हुन्। चुनकुमारीका भाई लीलबहादुर दाहालले शवको सनाखत गरेका छन्। शव धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी खतिवडाले दिए । धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो १२ः३० बजेतिर महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ । मृत फेला परेकी महिलाको कम्मर मुनिको भागको कपडा थिएन । इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । महिलाको हत्या कसले गरेको हो भनेर यकिन भइसकेको छैन । डीएसपी खतिवडाले घटनाको थप अनुसन्धान अघि बढाएर घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको जानकारी दिए । महिलाको घाँटीमा चोटपटक देखिएको छ । शव घिसारेर केही पुर पुर्याएर शव छाडेको जस्तो देखिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार