काठमाडौं : निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि आशावादी बन्नुपर्ने धारणा राखेका छन्। उनले हाल देखिएको अनौपचारिक आर्थिक गतिविधि, बजारमा देखिएको सुनसान अवस्था र लगानीमा आएको मन्दीलाई गम्भीरतापूर्वक विश्लेषण गर्दै, यस्ता कठिनाइबीच पनि सुधार सम्भव रहेको स्पष्ट पारे।
"हामी सक्छौं, अर्थतन्त्र उठाउन सक्छौं," ढकालले महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, "निराशा होइन, अबको युद्ध आशावाद र सुधारको पक्षमा हुनुपर्छ।"
उनले वर्तमान सरकारको नीति, सार्वजनिक खर्चको कार्यान्वयन, निजी क्षेत्रको मनोबल, र विदेशी लगानीको अवस्था सुधार गर्न जरुरी रहेको औंल्याए। "हामीले सरकारसँग समन्वय गरेर नीति सुधार, प्रशासनिक सरलता, र लगानीमैत्री वातावरण बनाउन पहल गर्नुपर्छ," उनले भने।
ढकालले निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात विस्तारमा निरन्तर योगदान गरिरहेको भन्दै राज्यले निजी क्षेत्रलाई समस्या होइन, समाधानको भागीदारको रूपमा लिनुपर्नेमा जोड दिए। उनले विदेशी लगानी वृद्धिको लागि एक अर्ब डलर बराबरको लगानी भित्र्याउने लक्ष्य राख्नुपर्ने धारणा पनि राखे।
'अबको लडाइँ सुशासन, स्थायित्व र आर्थिक समृद्धिको पक्षमा हो। निजी क्षेत्र अग्रसर छ, सरकार र अन्य अंगहरूले साथ दिनुपर्छ' ढकालले भने ।
उनले थपे, "देशको आधार बलियो छ, तर अहिले हाम्रो आत्मबल कमजोर भएको महसुस भइरहेको छ। हामी सबै मिलेर यो अवस्था परिवर्तन गर्न सक्छौं।"
प्रतिक्रिया