आग्रह पूर्वाग्रहमा नलागी ठोस निर्णयमा दीर्घकालीन बिकासको काम गर्छौँ-मेयर पौडेल

सोमबार, १९ मंसिर २०७९
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आँफू निर्वाचित भएर आएको ६ महिनासम्म आन्तरिक व्यवस्थापनमै समय बितेको र आगामी दिनमा ठोस निर्णयमा पुगेर काम गर्ने बताएका छन् । टहरी उपमहानगर परिसरमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मेयर पौडेलले आगामी दिनमा आँफू ठोस निर्णयमा पुगेर नगरबासीको हितमा सकारात्मक काम गर्ने बताएका हुन् । ‘हामीलाई आन्तरिक व्यवस्थापनका लागि ६ महिना लाग्यो, अब कसैप्रति पनि आग्रह, पूर्वाग्रहमा नलागी ठोस निर्णयमा पुगेर काम गर्छौँ,’ मेयर पौडेलले भने, ‘अहिले हामीले कल सेन्टरमार्फत जनताका गुनासा र समस्या सुन्ने गरिरहेका छौँ, जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएर समस्या बुझिरहेका छौँ ।’ उनले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको समेत स्मरण गराए । उनका अनुसार एसियाली विकास बैँकले इटहरीको बाढी समस्या समाधान गर्नका लागि साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘ट्याङ्ग्रा खोलालाई बूढीखोलामा डाइभर्सन गराइने तयारी अगाडि बढाइएको छ,’ उनले भने, ‘बाढीले मानवीय र भौतिक क्षति हुने समस्या समाधान गर्न हामी गम्भीर छौँ ।’ उनले इटहरीलाई भ्रष्टाचारमुक्त बनाउन पनि आँफू प्रतिबद्व रहेको बताए । ‘मिडियामा बोलेर, ठूलो स्वर गरेर नगर भ्रष्टाचारमुक्त हुन सक्दैन, तसर्थ स–साना कामकै कारण पनि भ्रष्टाचारमुक्त नगर बनाउन प्रतिबद्व छु,’ उनले भने, ‘जनताको हितका निम्ति कठोर बन्नुपर्छ भनेपनि त्यसका लागि तयार छु ।’ उनले आँफू निर्वाचित भएर आइकन गरेका कामबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरूले इटहरीको दीर्घकालीन विकासका निम्ति उपमहानगरले गर्नुपर्ने कामबारे सुझाव दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार