सकारात्मक अभिभावकको रुपमा तपाईंले बोल्ने भन्दा बढी नानीबाबुहरुलाई सुन्नुहोस । नानीबाबुहरूलाई केहि भन्नुभन्दा अघि आफ्नो संवेग जाँच्नुहोस् । कुनैपनि गतिविधिको सिमा निर्धारण गर्नुहोस । तपाईले नानीबाबुहरूबाट गर्ने अपेक्षा उमेर सुहाउँदो छ कि छैन भनेर जाँच्नुहोस् । तार्किक परिणाम मात्र भोग्न लगाउनुहोस् ।मुख्यकुरा, नानीबाबुहरुले सिक्दैछन् भन्ने कहिल्लै नविर्सिनुहोस । सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाइको उचित वातावरण दिन सक्दो प्रयास गरिदिनुहोस । यो विदामा नानीबाबुलाई सबैजनासँग स्नेहपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रुपमा सिकाईदिनुहोस् । नानीबाबुहरुलाई कुराकानी गर्न, सरसफाइ गर्न, पोषिलो खानाको महत्व बुझ्न सहयोग गर्नुहोस । यहालाई जानकारी नै छ, तपाईंको नानीबाबुहरुको सिकाईलाई प्रभावकारी बनाउन विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मल्टिमिडियाको प्रयोग गरेर श्रव्यदृश्य सामाग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाइका कामहरू सञ्चालन गरिरहेको छ । पठनपाठनमा आईसीटीको प्रयोग गरिरहेका छौं । जसबाट शैक्षिक अवसर विस्तारका साथै सिकाइमा गुणस्तर सुनिश्चित गर्न मद्दत पुगेको छ । पढाउन स्मार्ट बोर्डको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रणबाट पढाइ अझ प्रभावकारी भएको छ । सिकाइलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिइएको छ । यसको प्रयोगसँगै विद्यार्थीको शिक्षण, सिकाई मजबुत बनेको छ । आदरणीय अभिभावक ज्यूहरु, यस बिदाको समयलाई सदुपयोग गर्नका लागि हामीले केहि सुझावहरु यसै पत्र साथ राखेका छौं । आशा छ यहाँहरुले यसलाई मनन गरिदिनुहुने नै छ । १. घरमासँगै बसेर खाना खाने समयमा किसानको कर्म र परिश्रमको बारेमा बुझाउँदै खाना खेर फाल्नु हुँदैन भन्ने कुरा बुझाईदिनुहोस् । २. आफ्नो घरमा व्यवहारिक कुराहरु जस्तैः सरसफाई गर्न, खाना खाएको प्लेट सफा गर्ने लगायतका गतिविधिहरुबाट श्रम/कामको मूल्य बुझ्नलाई मद्दत गरिदिनुहोस् । ३. उमेर अनुसार भान्छामा आमाबुबालाई तरकारी काट्न, फलफुल काट्न साथै पकाउन सहयोग गर्न प्रेरित गर्नुहोस । ४. कहिलेकाहीँ नानिबाबुहरुलाई कार्यस्थलमा लगेर तपाईंले आफ्नो परिवारको लागि कति कडा परिश्रम गरिरहनुभएको छ, बुझ्न दिनुहोस् । ५. नानीबाबुहरूलाई प्रकृति र प्राकृतिक बस्तुहरुसँग रमाउन, पानी, माटोसँग खेल्न प्रेरित गरिदिनुहोस् । प्रकृतिमा खेलेर, अवलोकन गरेर नानीबाबुहरुलाई सिर्जनात्मक कुरा गर्न, वास्तविकता महशुस गर्ने अवशर दिनुहोस । नानि–बाबुहरुले अनुभव गरेका कुरा लेख्न लगाउनुहोस् । ६. नानीबाबुहरुलाई मोबाइलबाट टाडा राख्नुहोस । मोबाईलको प्रयोग नानीबाबुहरुको स्वास्थ्यको लागि हानिकारक हुने बैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् । तर, कम्युटर लागायत अन्य बिद्युतिय उपकरणहरुको उचित प्रयोगबाट हुने लाभहरु बारे नानीबाबुहरुलाई बुझाईदिनु होस् । यथासम्भब प्रयोगात्मक विधिको पनि प्रयोग गर्नुहोस् । ७. हुर्कदै गरेका नानीबाबुहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस् । धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस् । ८. सूचना प्रविधिको बढ्दो प्रयोगका बीच बाबुनानीहरूलाई उद्देश्य र नैतिकताको बलियो भावना विकास गर्न मद्दत गर्नुहोस् । नानीबाबुहरूलाई उद्देश्य, नैतिकता र मूल्यहरूको बलियो भावना विकास गर्न मद्दत गर्नसकेमा मात्र बालबालिकाको भविष्यका लागि सफल आधार बनाउन सकिन्छ । यसका लागि जटिल नैतिक मुद्दाहरूको बारेमा हुने छलफलहरूमा नानीबाबुहरुलाई संलग्न गर्न सकिन्छ । ९. बालबालिकालाई जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ भन्ने कुरा बुझ्न मद्दत गरिदिनुहोस । यसका लागि नानीबाबुहरुको दुई महत्वपूर्ण पाठशालाहरु घर र विद्यालयले संयुक्त रुपमा सहकार्य गर्न सक्दा मात्र बालबालिकाको उज्वल भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने अपेक्षा सहित यो पत्र पठाएका छौं ।
मणिकुमार पौडेल प्राचार्य मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिङ स्कुल, इटहरी–६ सुनसरी
प्रतिक्रिया