इलामको सूर्योदयमा महिलाहरुलाई अचार बनाउन सिकाइँदै

मंगलबार, ०९ बैशाख २०८२

इलाम : इलामको सूर्योदय नगरपालिका–११ मा महिलाहरुलाई सिपमुलक बनाउने उद्देश्यसहित अचार बनाउने तालिम प्रदान गरिएको छ। सूर्योदय नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सूर्योदय नगर कार्यसमितिको आयोजनामा तालिम सुरु भएको हो।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन उपमेयर दुर्गा कुमार बरालले गरेका थिए। उद्घाटन सत्रमा उनले महिलाहरूलाई स्वरोजगारमुखी बनाउँदै नगरमा उत्पादित कृषि उपजको प्रशोधन र बजार व्यवस्थापनमा सहयोग गर्न तालिमको भूमिका महत्वपूर्ण हुने बताए।

२१ जना महिलाको सहभागिता रहेको तालिममा अचार लगायतका कृषि आधारित परिकार उत्पादन र बजारिकरणको सीप सिकाइँदैछ। उपमेयर बरालले तालिमबाट उत्पादित सामग्रीलाई बजारसम्म पु-याउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा वडाध्यक्ष सन्तोष राईले घरमै बसेर आम्दानी गर्ने चाहना राख्ने महिलाहरूका लागि यो तालिम प्रेरणादायक हुने बताए।

तालिमको उद्घाटन कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघका नगर अध्यक्ष मदन कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महासंघका कोशी प्रदेश सचिवालय सदस्य तोयानाथ भट्टराई, वडा सचिव रोशन राई लगायतको उपस्थिति रहेको थियो।

तालिमको सहजीकरण प्रशिक्षक उषा निरौलाले गर्नेछिन् भने कार्यक्रम सञ्चालन महासंघका सचिव मणि घिमिरेले गरिरहेका छन्।

सिपमुलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने प्रयास स्वरूप तालिमले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार