इटहरी : रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएका फरार प्रतिवादी इटहरी–११ निवासी दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।
२०७९ साल भदौ २८ गतेको फैसलाअनुसार राईलाई दुई वर्ष छ महिनाको कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना गरिएको थियो। फैसला पछि फरार रहेका राईलाई बिहीबार गोप्य सूचनाका आधारमा सामुदायिक प्रहरी बिट भवानीपुर, इटहरीबाट खटिएको टोलीले उनको घर नजिकैबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेस गरिएको छ।
राईमाथि रासायनिक मल हिनामिना गरी राज्यलाई आर्थिक क्षति पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले लामो समयदेखि खोजी गर्दै आएको थियो।
प्रतिक्रिया