“कफी केवल पेय होइन, भावना हो।”
इटहरी : यो भनाइ इटहरीका युवा उद्यमी पूर्ण राईको हो। उनी त्यो पुस्ताबाट हुन्, जसले नेपालमा ‘कफी संस्कृतिको बीउ’ रोप्ने साहस गरे।
सन् २०११ मा जब उनले इटहरीमा एमसी क्याफे स्थापना गरे, तब नेपालमा कफी केवल ‘विशेष वर्ग’ सम्म सीमित थियो—न कफी मेसिन सजिलै पाइन्थ्यो, न प्रशिक्षित बारिस्टा, न त सुहाउँदो इन्टेरियरसहितको वातावरण।
तर, पूर्णले हिम्मत हारेनन्। आफ्नो दृढ इच्छाशक्ति, लगनशीलता र दृष्टिले उनले जुन बाटो समाते—त्यो बाटो आज एक सांस्कृतिक यात्रामा परिणत भइसकेको छ। उनी भन्छन्, “कफीसप अब केवल कफी पिउने ठाउँ मात्र होइन, राजनीतिक छलफलदेखि युवाहरूको जमघट र व्यावसायिक बैठकसम्मको साझा थलो बनिसकेको छ।”
कफीको कपमा सिर्जनात्मकता
कफी व्यवसाय केवल व्यापार होइन—संवेदनाको सञ्चार पनि हो। पूर्ण भन्छन्, “पैसा भएर मात्र कफी पसल खोल्न सकिँदैन, यसको स्वाद, शैली र सन्देशप्रतिको गहिरो बुझाइ आवश्यक पर्छ। कफी युवाहरूलाई ऊर्जा दिन्छ, दिशा देखाउँछ र विकल्प खोज्न प्रेरित गर्छ।”
उनका अनुसार, बार र हार्ड ड्रिंक्सको विकल्पमा कफीसप एउटा सशक्त सामाजिक मञ्च बनिरहेको छ। आज इटहरी क्षेत्रमै १५ भन्दा बढी क्याफेहरू सञ्चालनमा छन्, जसले संवाद, सृजनशीलता र नेटवर्किङका लागि नयाँ सम्भावना खोलेका छन्।
क्याफे: नयाँ पुस्ताको प्रेरणा केन्द्र
संगीतचोक निवासी रेखा कटवाल भन्छिन्,“क्याफे मेरो लागि उत्पादनशीलता र प्रेरणाको स्रोत हो। म प्रायः ल्यापटप लिएर क्याफे जान्छु,लेख्न,आइडिया सोच्न वा केवल दैनिक झमेलाबाट केहीछिन टाढा हुन।”
उनका अनुसार, अहिले क्याफेहरू केवल खानेपिउने ठाउँ मात्र नभई सिर्जनात्मकता, आत्मीयता, सामाजिक संवाद र आत्म–रिफ्रेसमेन्टको केन्द्र बनेका छन्। “क्याफेले नयाँ साथी बनाउन, पुराना मित्रसँग पुनः जोडिन र अर्थपूर्ण कुराकानी गर्न सहयोग गर्छ,” उनी भन्छिन्।
कफीसपहरूमा अब युवाहरू केवल गफगाफ गर्न होइन-पढ्न, सिर्जना गर्न, काम गर्न र स्टार्टअप योजना बनाउनेसम्मको काम गरिरहेका छन्। सहज इन्टेरियर, निःशुल्क वाइफाइ, शान्त वातावरण—यी सबैले रेस्टुरेन्टभन्दा कफीसपलाई अझ ‘फ्लेक्सिबल’ र अर्थपूर्ण बनाइदिएका छन्।
संवादको सुगन्ध र सम्भावनाको स्वाद
इटहरी लगायत देशभर विस्तार हुँदै गएको ‘कफी कल्चर’ अब नेपाली समाजको मौन तर प्रभावकारी क्रान्ति बनेको छ। एक कप कफी अब केवल स्वाद मात्र होइन—संवाद, सिर्जना, सम्बन्ध र सपना बोक्ने माध्यम बनेको छ।
पूर्ण राईजस्ता उद्यमीहरूको हिम्मत र दूरदर्शिताले अब कफीसपहरू नेपाली युवा पुस्ताको पहिचान, प्रेरणा र परिवर्तनको अड्डा बनिरहेका छन्।
प्रतिक्रिया