उन्नाइसौँ राष्ट्रिय सूचना दिवस : सर्वोत्कृष्ट अभियन्ता पुरस्कार गाउँलेलाई

मंगलबार, ०३ भदौ २०८२

काठमाडौँ  : राष्ट्रिय सूचना आयोगले विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं वरिष्ठ पत्रकार शिव गाउँलेलाई प्रदान गरेको छ ।

उन्नाइसौँँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनय कसजु सूचनाको हक उत्कृष्ट अभियन्ता पुरस्कार पत्रकारत्रय आरती चटौत, अमृतनाथ तिमिल्सिना र कृष्णा पौडेललाई प्रदान गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचनाको हकको संरक्षण, प्रवद्र्धन र प्रचलन गर्न योगदान दिने पूर्वसूचना आयुक्त किरणकुमार पोखरेललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस अवसरमा उत्कृष्ट सूचना अधिकारीका रूपमा लोकसेवा आयोगका एकनारायण शर्मा, मानेभञ्ज्याङ गाउँपालिकाको कार्यालय, ओखलढुङ्गाका विपिन कार्की, खैरहनी नगरपालिकाको कार्यालय, चितवनका दामोदर अधिकारी, शङ्खरापुर नगरपालिकाको कार्यालय, काठमाडौँका सुभद्रा पुडासैनी र भरतपुर महानगरपालिकाको कार्यालय, चितवनका मेनका पण्डितलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा आयोगमा रही वर्षभरमा उत्कृष्ट कार्य सम्पादन गर्दै उपसचिव देवेन्द्र कार्की, शाखा अधिकृत सहनशीला पुडासैनी, लेखा अधिकृत अशोक न्यौपाने र कम्प्युटर अपरेटर मोहन ज्ञवालीलाई पुरस्कृत गरिएको छ ।

कर्मचारी प्रोत्साहन पुरस्कार हलुका सवारी चालक विजय श्रेष्ठ र कार्यालय सहयोगी टीकाप्रसाद घिमिरेलाई प्रदान गरियो । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ साउन ५ गते जारी भई लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार’ मूल नाराका साथ आज स्थापना दिवस मनाइएको हो । सोअवसरमा प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना कुनै अमूर्त विषयवस्तु नभई नागरिकको ज्ञानको शक्ति भएकाले सूचनाको माध्यमबाट नागरिकलाई जिम्मेवार तुल्याउन आवश्यक रहेको बताए ।

सूचनाको हकको संरक्षण गर्नु नागरिकको कर्तव्य भएको बताउँदै उनले कानुनबमोजिम सूचनाको वर्गीकरण गर्न सरकारको ध्यानाकर्षण गरे । सूचना आयुक्त गगन विष्टले कानुनी राज्य र विधिको शासनलाई बलियो बनाउन नागरिकले सहज रूपमा सूचनाको हक प्राप्तिको वातावरण आवश्यक रहेको बताए । 

अर्का आयुक्त दुर्गा भण्डारी पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै नागरिकले सहज रूपमा सूचनाको हक प्राप्त गर्न सकून् भन्ने हेतुले आयोगले काम गर्दै आएको

बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका सचिवलगायत विभिन्न निकायका प्रमुख एवं सूचना अधिकारीलगायत सहभागी थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार