सुनकोसी नदीमा बाढीको जोखिम : खोटाङका तटीय बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

शनिबार, ०७ असार २०८२

खोटाङ : सुनकोसी नदीमा बाढी आउन सक्ने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय, खोटाङले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

चीनको तिब्बत क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले त्यसको प्रभाव स्वरूप सुनकोसीमा पानीको बहाव तीव्र हुन सक्ने जोखिम औँल्याउँदै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो।

प्रशासनका अनुसार, बाढीका सम्भावित असरले खोटाङ जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका क्षेत्रहरू प्रभावित हुन सक्ने छन्।

चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचनालाई आधार मानेर सिन्धुपाल्चोक प्रशासनले सतर्कता सूचना निकालेपछि खोटाङले पनि असार ६ गतेदेखि सार्वजनिक सूचना जारी गर्दै सचेत रहन आह्वान गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहद्वारा जारी सूचनाअनुसार सम्बन्धित स्थानीय तहहरूलाई पनि आवश्यक जानकारी दिइसकिएको छ।

गत वर्ष असार १२ गते सुनकोसीमा आएको बाढीले फोक्सिङ्टारस्थित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीय विस्थापित हुनुपरेको थियो। यस्तो पृष्ठभूमिमा यस वर्ष पुनः त्यस्तै घटना नदोहोरियोस् भन्नका लागि प्रशासनले पूर्व तयारी र सतर्कता आवश्यक ठानेको हो।

नदी किनार नजिक रहेका नागरिकलाई सम्भावित जोखिमको आङ्कलन गरी सुरक्षित स्थानमा सर्न तथा स्थानीय सरकारको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार