काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले संविधान कार्यान्वयनमा धेरै चुनौतिहरु देखा परेको बताएकी छन् ।
बिहीबार लोकतन्त्र दिवसका अवसरमा नेता डा.शशाङ्क कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भुसालले संविधान कार्यान्वयनमा देखा परेका चुनौतिहरुलाई व्यवस्थापन गर्नको लागि सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘संविधान कार्यान्वयनमा जुन चुनौतिहरु देखा परेका छन् त्यसलाई व्यवस्थापन गर्न सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने अवस्था छ । दुई ठूला पार्टीहरु मिलेर बनेको गठबन्धनको सरकारको जुन परिकल्पना र प्राथमिकता थियो त्यो ओझेलमा परेको छ । जनताका विषयवस्तु ओझेलमा परिरहेका छन् ।’
साथै उनले लोकतन्त्रले गर्दा आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म पूरा भएको बताइन् । उनले अझैं पनि नयाँ पुस्ताले चाहे अनुसारको परिवर्तन देशमा प्राप्त गर्न नसकिएको बताइन् ।
उनले भनिन्, ‘आज हामी लोकतन्त्र दिवस मनाइरहदा लोकतन्त्रको उपलब्धिलाई एउटा राजनीतिक रुपान्तरणका रुपमा लिएका छौं । जसले मुलुकलाई एउटा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो । र अर्कोतिर द्न्द्लाई समाप्त गरेर शान्तितिर मुलुकलाई प्रवेश गरायो । यो हाम्रो उपलब्धि हो । संस्थागत गर्नका लागि संविधान पनि बन्यो, समावेशी प्रतिनिधित्व पनि भयो तर आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म मात्र उपलब्धि भएको छ । अहिलेका नयाँ पुस्ताले प्राप्त गर्नुपर्ने परिणामहरु प्राप्त गर्न सकेका छैनन् । पिछडिएका महिलाहरु जुन राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धिहरु हासिल गर्नुपर्नेमा केही चुनौतिहरु देखा परेको छ ।’
प्रतिक्रिया