सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको छ ।
मुख्यमन्त्री शाहले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख १६ देखि २२ गतेसम्म भ्रमणमा जाने जानकारी दिए ।
“नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ, प्रदेश सरकारले यसलाई उपलब्धिको रूपमा लिएको छ ।” उनले भने । भ्रमण टोलीले प्रदेश सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने उहाँले जानकारी दिए ।
टोलीले भारतको दिल्ली, देहरादून, अयोध्या, लखनउलगायत ठाउँको भ्रमण गर्ने छ । भ्रमण तालिका अनुसार भ्रमण टोली पहिलो दिन काठमाडौँबाट हवाई मार्ग हुँदै दिल्ली पुग्नेछ । दिल्लीमा सङ्घीय मन्त्रीसँग भेटवार्ता गरेपछि विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
त्यसपछि टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटवार्ता पश्चात् उत्तर प्रदेशको राजधानी लखनउबाट स्थल मार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने कार्यक्रम तय भएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का झपटबहादुर साउद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जितु उपाध्याय, स्वकीय सचिव रामबहादुर विष्ट सहभागी हुने छन् ।
प्रतिक्रिया