शिक्षक महासंघ–सरकारबीचको सहमतिप्रति विद्यालय कर्मचारी परिषदको असहमति

विहीबार, १८ बैशाख २०८२

काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर विद्यालय कर्मचारी परिषदले असहमति जनाएको छ ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौंको रत्नराज्य स्कुलमा आयोजित कार्यक्रममा विवाद र भनाभन समेत भएको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध जनाएका कर्मचारीहरू रत्नराज्यमा पनि आक्रोशित भए ।

दुई पक्षबीच विवाद भएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिनु परेको थियो ।

कार्यक्रमस्थलमा पुग्नुभएका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिनुभएको हो ।

शिक्षकसँग भनाभन चर्किएपछि समीक्षा बैठक पनि अवरुद्ध भएको छ । शिक्षकसहित आफूहरूका माग सहमतिमा नसमेटिएपछि कर्मचारीहरू रुष्ट छन् ।

शिक्षक महासंघले सरकारसँग सहमति गर्दा आफ्ना मागहरु छुटेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्‍ले आपत्ति जनाएको छ । आफूहरुले आन्दोलनका छुट्टै कार्यक्रम घोषणा गर्न उनीहरुले छलफल गरिरहेका छन् ।

यसअघि सरकार र शिक्षक महासंघबीचको सहमतिलाई लिएर विद्यालय कर्मचारी परिषद्ले आज विज्ञप्तिा जारी गर्दै असन्तुष्टि जनाएको थियो ।

महासंघले हिजो गरेको सहमति आफूहरूको संस्थागत धारणाविपरीत रहेको उसले स्पष्ट पारेको हो ।

महासंघले राष्ट्रिय समितिमार्फत सञ्चालनमा ल्याएको दोस्रो चरणको आन्दोलन २९औँ दिन पुगेपछि बुधबार सरकारसँग ९ बुँदे सममति  गर्दै आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।

फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।

साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने उसले जनाएको छ ।

यस्तो छन् शिक्षकहरूसँग सहमति भएका ९ बुँदा

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।

२. अस्थायी प्रकृतिका शिक्षक; राहत, अस्थायी (करार ) साविक उमावि, सिकाई अनुदान, प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।

४. आगामी आर्थिक वर्ष २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि,  प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।

८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।

९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार