इटहरी : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुनसरी जिल्लाबाट ६९.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ,सुनसरीका अनुसार जिल्लाका ५० परीक्षा केन्द्रमार्फत साधारण नियमिततर्फ १२,५६१ परीक्षार्थीले परीक्षा दिएका थिए। तीमध्ये ८,७८० जना ग्रेडेड (उत्तीर्ण) र ३,८११ जना ननग्रेडेड भएका छन्।
इकाइका प्राविधिक सहायक तोत्र खडकाका अनुसार ननग्रेडेड विद्यार्थीमध्ये १,७८१ जनाले एक विषयमा,७९३ जनाले दुई विषयमा तथा बाँकीले तीन वा बढी विषयमा असफल भएका छन्।
यसैबिच,जिल्लाका विभिन्न विद्यालयका ७ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जिपिए ल्याउँदै विशिष्ट उपलब्धि हासिल गरेका छन्।
इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मिसु प्रधान,ग्रिनपिस एकेडेमीका बिशेष पौडेल र तरहरास्थित पूर्वाञ्चल उच्च माविका सौरभ दाहाल उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका हुन्।
धरानस्थित सैनिक आवासीय माविका प्रज्वल बस्नेत र विष्णु मेमोरियल स्कुलका रूपराज बरालले पनि ४.०० जिपिए ल्याएका छन्।
इनरुवा नगरपालिकास्थित नवयुग एकेडेमीका सुदिश सुवेदी र प्रज्ञान पोख्रेलले पनि ४ जिपिए ल्याएका छन्।
प्राविधिक धारतर्फ यस वर्ष ४१८ जनाले परीक्षा दिएकोमा ५९.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
सुनसरीका सामुदायिक विद्यालयहरूमध्ये जनसहयोग उच्च माविका विद्यार्थीहरू उत्कृष्ट भएका छन्।
सोही विद्यालयकी डेनिस बानिया र सजना तामाङ ले समान ३.९६ जिपिए हासिल गर्दै जिल्लामै सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा ल्याएका हुन्।
प्रतिक्रिया