आठ महिने पोलिसी लिडरशिप तालिम सम्पन्न

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं : नेपाल सरकारका नीतिनिर्माण तहमा कार्यरत अधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको आठ महिने ‘नेपाल पोलिसी लिडरशिप प्रोग्राम (एनपिएलपी) २०२४’ को समापन एक औपचारिक समारोहका साथ काठमाडौँमा सम्पन्न भएको छ। नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम) र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा यो तालिम कार्यक्रम सम्पन्न गरिएको हो।

समापन समारोहको अध्यक्षता एनपीआईका अध्यक्ष डा. खगेन्द्रराज ढकालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्ले तथा विशेष अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल उपस्थित थिए।

डा. ढकालले आठ महिनासम्म सञ्चालन गरिएको तालिमलाई उपलब्धिमूलक भएको उल्लेख गर्दै सहभागीहरूलाई केस स्टडीमार्फत नीति निर्माणका लागि आवश्यक विश्लेषणात्मक क्षमता तथा फ्रेमवर्कहरू सिकाइएको जानकारी दिए। उनले यो कार्यक्रम अनुभवनिर्भर सिकाइमा आधारित रहेको र सहभागीहरूको क्रिटिकल थिङ्किङ क्षमताको विकास गर्न डिजाइन गरिएको बताए।

कार्यक्रमका कार्यकारी सदस्य तथा पूर्वसचिव गोपीनाथ मैनालीले त्रिपक्षीय सहकार्यको सफलताबाट तालिम कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै यस्तो सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। तालिम तीन चरणमा (प्रि-रेसिडेन्सी, रेसिडेन्सी, र पोस्ट-रेसिडेन्सी) सम्पन्न भएको थियो। पोस्ट-रेसिडेन्सीमा सहभागीहरूले आफ्ना कार्यस्थलमा सिकेका कुरा कार्यान्वयन गर्ने अवसर पाएका थिए, साथै आवश्यकताअनुसार एनपिएलपी टिमबाट सहयोग र समर्थनको व्यवस्था पनि गरिएको थियो।

एनपिएलपीमा ९ जना प्रशिक्षकहरूले सहजीकरण गरेका थिए, जसमा नेपाली मूलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको समावेश थियो। मुख्य सहजकर्ता डा. गम्भीर भट्ट रहेका थिए भने अन्य प्रशिक्षकहरूमा डा. खगेन्द्र ढकाल, डा. गोपी खनाल, गोपी मैनाली, शारु जोशी, डा. पूर्ण नेपाली, डा. प्रमोद जोशी र सम्झना श्रेष्ठ रहेका थिए। अन्तर्राष्ट्रिय विज्ञ स्याली वाशिंगटनले नीति नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासमा आधारित विशेष सत्र सञ्चालन गरेकी थिइन्।

समारोहमा १६ वटा मन्त्रालयबाट आएका सहसचिव, उपसचिव तथा अधिकृतहरू गरी २५ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र वितरण उपकुलपति प्रा.डा. वाग्ले, सचिव पौडेल, अध्यक्ष डा. ढकाल र डिन प्रा.डा. विजय केसीले संयुक्त रूपमा गरे।

प्रमुख अतिथि प्रा.डा. वाग्लेले नीति निर्माणमा कर्मचारीहरू सक्षम भए पनि कार्यान्वयनमा राजनीतिक नेतृत्वको प्रतिबद्धता कमजोर हुँदा चुनौती आउने बताए। उनले एनपिएलपीजस्ता कार्यक्रम व्यवहारिक र सिर्जनशील अभ्यास भएको भन्दै भविष्यमा पनि यस्ता तालिमहरू उपयोगी हुने उल्लेख गरे।

सचिव पौडेलले प्रमुखसचिव एकनारायण अर्यालद्वारा पठाइएको शुभकामना सन्देश वाचन गर्दै सहभागीहरूले प्राप्त गरेको ज्ञान नेपालको नीतिनिर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य–सचिव सुमनराज अर्याल, विभिन्न मन्त्रालयका उच्च अधिकारी, नागरिक समाज, शैक्षिक क्षेत्र, सञ्चार माध्यम तथा थिङ्क ट्याङ्क प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समापन सत्रको सञ्चालन एनपीआईकी कार्यकारी सदस्य शारु जोशी श्रेष्ठले गरेकी थिइन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्य भविष्यमा पनि जारी रहने आशा व्यक्त गरिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार