विद्युत् प्राधिकरणमा कुलमानको नाफा, हितेन्द्रदेवको घाटाः के हो वास्तविकता ?

आइतबार, २१ बैशाख २०८२

काठमाडौं : कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा नाफामा रहेको नेपाल विद्युत् प्राधिकरण हितेन्द्रदेव शाक्यले एक महिना नहुँदै ५ अर्ब घाटामा रहेको देखाइ ‘कमिसन र भ्रष्टाचारका लागि मार्गप्रशस्त गरेको’ भन्दै आलोचना सुरु भएको छ ।

प्राधिकरणले शुक्रबार घाटामा गएको भन्दै १० अर्ब रुपैयाँ ऋण लिने र विद्युत् महसुल बढाउने संकेत दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कार्यकारी निर्देशक शाक्यसँगै प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कालाई समेत मुछेर सामाजिक सञ्जालमा ‘भ्रष्टाचारी’ भन्दै गालीगलौच हुन थालेको छ ।

कार्यकारी निर्देशक शाक्यले आयकर ऐनको प्रावधानअनुसार थप ह«ासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमै रहेको जानकारी दिएका थिए ।

आर्थिक वर्ष २०८०-८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ छ भने चालू आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड नाफा भएको पनि उनले श्वेतपत्रमा उल्लेख गरेका थिए ।

निवर्तमान कार्यकारी निर्देशक घिसिङले ८ वर्षमा ४७ अर्ब रुपैयाँ सञ्चित मुनाफाको अवस्थामा पु¥याएको बताएका थिए । सरकारले गत ११ चैत २०८१ मा कुलमानलाई बर्खास्त गरेको थियो । शाक्यले थप ह्रासकट्टीको दाबीसहित गणना गर्दा प्राधिकरण सवा ५ अर्ब नोक्सानीमा रहेको बताएका छन् । घिसिङले भने तत्कालको सञ्चालन मुनाफा देखाएका थिए ।

कुलमान घिसिङले लेखाको सिद्धान्तअनुसार हिसाब देखाउँदा नाफा भएको र हितेन्द्रदेव शाक्यले कर कानुनको सिद्धान्तअनुसार हिसाब देखाउँदा घाटामा गएको देखिएको छ

सम्पत्तिको ह्रास हुँदै जाने भएकाले सम्पत्तिको मूल्य घट्दै जाँदा आम्दानी बढेको नदेखिने तर तत्कालको हिसाब गर्दा मुनाफा बढेको देखिने चार्टड एकाउन्टेन्टहरू बताउँछन् । घिसिङ र शाक्यको तर्क आ–आफ्नो हिसाबले ठीक रहेको पनि उनीहरू बताउँछन् । तर, हितेन्द्रदेवले कुलमानलाई गलत देखाउने मनसायले श्वेतपत्र जारी गरेको देखिएको भनाइ उनीहरूको छ ।

२०८१ माघसम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ । श्वेतपत्रमा तीन वर्षदेखि महसुल समायोजन नभएकाले यसका लागि पहल गर्ने औंल्याइएको छ ।

त्यस्तै, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता प्रचलित महसुल संकलन विनियमावलीअनुसार महसुल संकलन प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख छ ।

श्वेतपत्रमार्फत शाक्यले १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना प्राधिकरण आफैं वा सहायक कम्पनीमार्पmत् बनाउने जानकारी दिए । आगामी पाँच वर्षमा विद्युत् उत्पादन प्रसारण तथा वितरण प्रणाली विस्तारका लागि ६ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जानकारी दिँदै उनले चार खर्ब रुपैयाँ वैदेशिक र दुई खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने लक्ष्य रहेको जानकारी दिए ।

कुलमानले विद्युतीकरण ९९ प्रतिशत पुगेको भनेकामा श्वेतपत्रमा ८४.६२ प्रतिशत देखाइएको छ । यस्तै विद्युत् चुहावट पनि कुलमानले भनेभन्दा बढी रहेको श्वेतपत्रमा उल्लेख छ । कुलमानले चुहावट १२.७३ प्रतिशतमा झारेको विवरण सार्वजनिक गरेकामा श्वेतपत्रमा १४.८५ प्रतिशत देखाइएको छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी थियो– विद्युत् प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा छ ।’

प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोेषसमेत गरेका थिए । आव २०७२÷०७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको कुलमान हुँदाको प्रतिवेदनमा भनिएको थियो । आर्थिक वर्ष ०८०-०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड छ ।

तर आयकर ऐनको प्रावधानअनुसार थप ह्राससकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म ५ अर्ब २६ करोड नोक्सानीमै रहेको श्वेतपत्रले स्पष्ट पारेको छ । प्राधिकरणको नाफा÷नोक्सानीका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको उल्लेख गरेको छ । २९ करोड ९१ लाख आम्दानी नबाँधेको देखिन्छ ।

२०८०÷०८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब र स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । करिब २ खर्ब २० अर्ब रुपैयाँबराबरका निर्माणाधीन आयोजनाहरू रहेका र यी आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्ने अपेक्षा गरिएको छ । आयोजना ठेक्कापट्टामा दिएको भुक्तानीका लागि प्राधिकरणले १० अर्बसम्म अल्पकालीन ऋण लिने शाक्यले जानकारी दिए ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएको ठेक्कापट्टाअन्तर्गत भुक्तानी हुन ११ अर्ब ६१ करोड रहेको रहेको छ । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये डलर-नेपाली रुपैयाँ मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कल-चालु खातामा रहेको छ जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो ।

कुलमानले लेखाको सिद्धान्तअनुसार हिसाब देखाउँदा नाफा भएको र हितेन्द्रदेवले कर कानुनको सिद्धान्तअनुसार हिसाब देखाउँदा घाटामा गएको बताइएको छ । प्राधिकरणको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२-८३ को वर्षायाममा करिब २ हजार ६ सय ४८ मेगावाट र २०८३-८४ को वर्षायाममा करिब ३ हजार ३ सय १६ मेगावाटसम्म जगेडा विद्युत् निर्यात हुनुपर्ने देखिन्छ भने २०८२-८३ को सुख्खायाममा ७९१ मेगावाट र २०८३-८४ को सुख्खायाममा ७२८ मेगावाट अपुग विद्युत् आयात गर्नुपर्ने देखिएको श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । कुल १२ हजार ८ सय ९४ मेगावाट बराबरको पीपीएका लागि आवेदन प्राप्त भएकोमध्ये ५ हजार ४७८ मेगावाट क्षमताको कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ । कुल ९ सय ६० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाहरू पीपीए हुने क्रममा रहेका छन् ।

नेपाल विद्युत् प्रको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ प्रतिशत वडाहरूमा पुगेको छ भने घरसंरचनाको आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको देखिन्छ । २०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या (मिटर संख्या) ५५ लाख ८६ हजार ३७ रहेको छ ।

उत्पादनतर्फ चालू आर्थिक वर्षको माघसम्म नेपालको कुल जडित उत्पादन क्षमता ३ हजार ५ सय ११.५७ मेगावाट रहेको छ, जसमध्ये प्राधिकरण मातहतका विद्युत् गृहहरूको जडित क्षमता ६ सय ६१.५७ मेगावाट रहेको छ । २०८१ फागुन मसान्तसम्म आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ मेगावाट रहेको छ भने चालु आर्थिक वर्षको अन्तिमसम्म २ हजार ४ सय ३८ मेगावाट पुग्नेप्रक्षेपण रहेको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार