खोटाङ : खोटाङ जिल्लाको सावाखोलामा निर्माण गरिएको पक्की पुल शनिबारदेखि सञ्चालनमा आएको छ। खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भानमती घाटमा निर्माण सम्पन्न भएको यस पुलले खोटाङका पाँच वटा पालिकाका बासिन्दालाई सहज आवागमनको सुविधा उपलब्ध गराएको छ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त अनुदानमा निर्माण गरिएको पुल ४१.४० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको छ। पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले एक विशेष समारोहबीच गरेका हुन्।
उद्घाटन कार्यक्रममा मन्त्री राईले खोटाङ जिल्लाको विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए। उनले सावाखोलाको पुल सम्पन्न भइसकेको, बुवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको र सुनकोसीको बंशिलाघाटको पक्की पुल समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जानकारी दिए।
पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा उत्साह देखिएको छ।
प्रतिक्रिया